सम्पन्न भयो पहिलो ‘नेपाल फेसन फेस्टिभल’


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ

नेपालमै पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सम्पन्न भएको छ । ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ फेसन नेटवर्क नेपालले गत जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो फेसन फेस्टिभलको आयोजना गरेको हो ।

आयोजक संस्थाका संस्थापक निर्देशक प्रशान्त ताम्राकारका अनुसार नेपाल फेसन फेस्टिभलमा अपेक्षा गरिएको भन्दा बढी सहभागिता भएको छ । ‘तीन दिनको अवधिमा हाम्रो फेस्टिभलमा करिव सात हजार बढीले अवलोकन गर्नु भएको तथ्यांक छ’, निर्देशक ताम्राकारले भने, ‘लामो गृहकार्यपछि हामीले जुन उद्देश्यले यो फेस्टिभल आयोजना गरेका थियौं, त्यसमा धेरै हदसम्म सफल पनि भयौं ।’

आयोजक संस्थाका अर्का संस्थापक शेखर राज कसजुका अनुसार फेस्टिभलमा युवा पुस्तासहित हरेक उमेर समुहका व्यक्तिहरुले अवलोकन गरेको, स्टलहरुमा फेसनदेखि जीवन शैली र स्वास्थ्य सेवाहरु लिएको तथा प्यानल डिस्कनदेखि रनवे फेसनबाट मनोरञ्जन लिएका थिए ।

नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने हजारौं व्यक्तिहरुका लागि फेशन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा अगाडि बढाउने उदेश्यले फेसन नेटवर्क नेपालले नेपालमै पहिलो पटक यो फेस्टिभल आयोजना गर्न गरेको हो ।

फेस्टिभलमा करिव ८० वटा स्टलहरुमार्फत पहिरनदेखि गरगहना, मेकअपदेखि स्वास्थ्य सेवा, शिक्षादेखि खानाका परिकारसम्म सजिएका थिए ।

शुक्रवारदेखि आइतवारसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म फेस्टिभलस्टलमा अवलोकन गर्नेहरुको घुईँचो देखिन्थ्यो । पहिलो दिन शुक्रवार करिव दुई हजार जनाले अवलोकन गरेको फेस्टिभलमा शनिवार तथा आइतवार भने करिव तीन–तीन हजारको संख्या अवलोनकर्ताहरु फेस्टिभलस्थलमा पुगेका थिए ।

फेस्टिभलमा स्टलहरुमार्फत विभिन्न सामग्री विक्रीका लागि मात्र राखिएका थिएनन्, फेसन, सौन्दर्य, जीवनशैली, फोटोग्रँफी आदि विषयमा गरिएको प्लानस डिसकसन, छलफल, अन्तरक्रिया तथा कार्यशालामा पनि उल्लेख्य सहभागिता रहेको थियो ।