काठमाडौं, ११ फागुन

पछिल्लो समय प्रेम जोडीको रुपमा परिचित अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की शुक्रबार एउटा कार्यक्रममा जोडी बाँधेर पुगे । ‘हबिब्स हेयर एण्ड ब्युटि सलून’ले शुक्रवारदेखि सुरु गरेको नेपालको आफ्नो दोस्रो शाखा ललितपुरको जावलाखेलमा ‘हबिब्स बेरिना सलोन फर हिम एण्ड हर’ को उद्घाटनमा यी युगल प्रेमी पुगेका हुन् । सो सलुनको उद्घाटन आयुष्मान र प्रियंकाले संयुक्त रुपमा गरे ।
रिबन काटेर सलून उद्घाटन गर्दै अभिनेत्री प्रियंकाले अन्तर्राष्ट्रिय ख्याती आर्जन गर्न सफल हेयर स्टाइलिष्ट हबिबको सैलून नेपालमा विस्तार हुनुले हेयर स्टाइलिसप्रति आकर्षित नेपाली युवा–युवतीहरु थप स्मार्ट हुने धारणा राखिन् ।
अभिनेता आयुष्मान देशराज जोशीले हबिबका सलुनमा युवतीमात्र होइन युवाहरुले पनि उत्कृष्ट सेवा पाउने भएपछि आफू समेत लाभान्वित हुने विश्वास व्यक्त गरे ।

आँखामा पट्टी बाँधेर काटियो कपाल

 

सलूनको उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा भारतका चर्चित हेयर स्टाइलिष्ट निलेश पारेखले आफ्नो विशेष हेयर कटिङ तथा स्टाइलिङ शो केस प्रस्तुत गरे । यसअघि लिम्का बुक अफ रेकर्ड्स तथा एशिया बुक अफ रेकर्ड्सुमा नामा लेखाइसकेका भारतीय हेयर स्टाइलिष्ट पारेखले उद्घाटन समारोहमा आँखामा पट्टी बाँधेर आगोमार्फत एउटी युवतीको केश काटेका थिए ।

द हाउस अफ हबिब्सले भारत तथा भारतभन्दा बाहिर विभिन्न ३१ वटा शाखाहरु सफलतापूर्वक सञ्चालन गरिरहेको जानकारी गराइयो । नेपालमा हबिबले काठमाडौंका दरबारमार्गबाट आफ्नो सेवा १५ वर्ष अघि सुरु गरेको हो ।

जावलाखेलको सो शाखा नेपालकै दोस्रो आउटलेटको रुपमा सञ्चालनमा आएको हो । यो सलूनमा महिला तथा पुरुष दुबैका लागि सेवा प्रदान गरिनेछ ।