जात घटुवा हुने प्रसँगमा पुजार सार्कीको ट्रेलर


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

चलचित्र पुजार सार्कीको करिब ४ मिनटको ट्रेलर मँगलबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । तीन लोकप्रिय अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई यो चलचित्रमा उतारिएको छ । चलचित्रको ट्रेलरमा पनि तीन जनाको अभिनय दृष्यलाई समान्तर रुपमा स्थान दिने प्रयास गरिएको छ ।

पञ्चायतको अबसान र बहुदलीय प्रजातन्त्र पद्धती उदय कालखण्डमा तात्कालिन गण्डकी अञ्चल, काँस्की जिल्लाको ग्रामिण भेकमा विधामान रहेको जातीय विभेदको कथामा निर्माण भएको चलचित्रको ट्रेलरमा पनि तीनै कुरालाई साराँसमा समेटिएको छ ।

केही वर्ष अघि भेरीमा मारिएको नवराज विकको घटनाझैं लाग्ने कथाँस यो चलचित्रको आज प्रस्तुत लघुदृष्यमा समेटिएको छ । तर यसका लेखक विकाश सुवेदीले नवराज विकको घटनासँग पुजार सार्कीको कथाको तारजम्य कत्तिपनि नमिल्ने बताए । उनले नेपालका ८० लाख दलित (तथ्याँक विभागका अनुसार नेपालमा २६ जातका दलितको सँख्या हाल करिब ४० लाखको हाराहारीमा छ) को बार्तमानसम्मको भोगाईको कथामा पुजार सार्की केन्द्रित रहेको उनको कथन छ ।

चलचित्रको ट्रेलरमा शिक्षाले ब्राम्हण अर्थात पुजारी बनेका पुजाको सार्की समुदायकी युवतीसँगको प्रेम र गाउँका दलित समुदायका मईतेको आफु भन्दा माथिल्लो समुदायकी युवतीसँगको प्रेमले निम्त्याको सामाजिक द्धन्द्धलाई प्रस्तुत गरेको छ । पुजारले सार्कीको छोरी विवाह गर्दा जात घटुवा हुने प्रसँगको वरपर ट्रेलर केन्द्रित छ । उपल्लो जातिले दलितसँग विवाह नगरोस भनेर रोक्नका लागि अहिले पनि माथिल्लो जातिले दलितसँग विवाह गर्दा विवाहित पुरुषको जात झरेर दलित नै हुने कुप्रथा समाजमा कायमै छ ।

यी चलिचत्रका कलाकारहरुले लामो अभ्यासबाट स्थानीय (कास्केली) लवज सिकेर यो चलचित्रको पात्रको रुपमा सो लवज प्रयोग गरेको ट्रेलर रिलिजका क्रममा बताए । अभिनेता प्रदीपले अघिल्लो चलचित्र प्रकाशमा जस्तै पुजार सार्कीमा पनि स्थानीय लवज सिक्ने राम्रै मेहनत गर्नु परेको बताए । शहरबाट गाउँ फर्केर पुजारी भएका आर्यनले भने त्यतिधेरै स्थानीय लवज बोल्नु नपरेको लेखक विकाश सुवेदीको कथन थियो ।

निर्देशक दिनेश राउतले पुजार सार्की केही दशक अघिको कथामा निर्माण गरिएको भए पनि समाजमा अहिले पनि छुवाछुतका घटनाहरु विधामान रहेको बताए । यो चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । उनी यो चलचित्रका सँगीतकार पनि हुन् । यो चलचित्रका अभिनेता पल शाह भने पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।

आगामी १० जेठबाट चलचित्र घरमा आउने पुजार सार्कीमा तीन अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बुका साथमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्यलगायतको शिर्ष भूमिका छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ । यसलाई अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दै छ ।