स्थिगित भयो मिस नेवा ११३७


 

काठमाडौं, ९ फागुन

नेप्लीज फेसन होमले हरेक वर्ष नेवार समुदायका युवती तथा किशोरीहरुको नेवार भाषा, कला, संस्कृति तथा समग्र व्यक्तित्व विकास गर्ने प्रतियोगिता मिस नेवास् आयोजना गर्दै आएको छ । यो वर्ष माघमा आयोजना गर्न लागेको मिस नेवा ११३७ केही समयको लागि नेप्लीज फेशन होमले स्थगित गरेको छ । होमकी अध्यक्ष हेमा मानन्धरले मँगलबार प्रेस विज्ञप्ति जारी गर्दै केही समयको लागि यो प्रतियोगिता स्थगित गरिएको जनाएकी छिन् ।

 

यो प्रतियोगिताको लागि करिब दुई महिनाअघि नै प्रतिस्पर्धिहरुबाट आवेदन तथा फाराम भराउने कार्य प्रारम्भ गरिसकेका थियो । चालिस जना नेवार समुदायका युवतीहरु आफ्नो आवेदन फारम भरेर प्रतियोगितामा सहभागिता जनाएका थिए ।

यसबीच आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर आफ्नी छोरी जेनिशा मानन्धरको अचानक बिग्रिएको स्वास्थ अवस्थाका कारण अष्ट्रेलिया जानु पर्यो । आफ्नो अनुपस्थितीमै अष्ट्रेलियाको एउटा अस्पतालमा छोरी जेनिशाको टाउकोको शल्यक्रिया भैसकेको अवस्थामा आफु काठमाडौंमा रहिरहन उचित नभएकाले अष्ट्रेलिया आउनु परेको हेमाले बिज्ञप्ति मार्फत जनाएकी छिन् ।

 

उनले विज्ञप्तिमा भनेकी छिन,‘अष्ट्रेलिया आएको करिव एक महिना बितिसक्दा छोरी जेनिशाको दोस्रो पटक टाउकोको शल्यक्रिया गर्नु पर्ने बाध्यता आइपर्यो। अहिले पनि छोरी जेनिशासंगै अस्पतालमा उनको उपचारमै म व्यस्त छु ।’

केही दिनका लागि भनेर अष्ट्रेलिया आएको आफु अझै कति दिन बस्नु पर्ने हो भन्ने निश्चित नभएको उनले बताएकी छिन् । यस्तो अप्ट्यारो परिस्थितिमा मिस नेवा ११३७ प्रतियोगिताका सम्पूर्ण सहयोगीलाई अझै केही दिन धैर्य गरिदिनु हुन उनले अनुरोध गरेकी छिन् ।

 

मिस नेवा प्रतियोगिता अझै केही साताका लागि स्थगित भएको तथा चाँडै नै नयाँ मिति घोषणा गरेर यो प्रतियोगिता गर्ने उनले बताएकी छिन् ।