मनसराको बिदेश राईट्स सेभेन सिजले किन्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ चैत

उपेन्द्र सुब्बाको दोश्रो निर्देशन चलचित्र ’मनसरा’ आगामी २१ बैशाखबाट रिलिज हुँदैछ । यो चलचित्रको अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको छ । नेपाली सिनेमाको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले ’मनसरा’को वितरण अधिकार किनेको हो ।

सेभेन सिजले सिनेमालाई अष्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्नेछ। ’मनसरा’ निर्माण पक्ष र सेभेन सिजबीच आज यसबारेमा कागजी सम्झौता भएको हो। सम्झौता पत्रमा ’मनसरा’बाट उपेन्द्र र निर्माता शैलेन्द्र ध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले वितरणसम्बन्धी हस्ताक्षर गरेका हुन्।

मनसरामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान आदिको प्रमुख भूमिका रहेको छ । सिनेमाले विवाहिता लिम्बुनीको विवाहित छिमेकी बाहुन बाजेसँगको सम्बन्धलाई कथा बनाएको छ। सिनेमाको सार्वजनिक टिजरले साधारण कथालाई रोचक बुनाइबाट पेस गर्ने देखाएको छ ।

निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।

एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ । सबैको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ सिनेमाबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्नसकिन्छ ।

जारीले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो । पछिल्लो समय सिनेमाको पर्दामा सर्वाधिक रुचाइएको जोडीमा दया–मिरुना पर्छन् ।