आगामी ४ साउनबाट हलमा लक्ष्मण सुवेदीको सतीदेवी


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ बैशाख

पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको तेश्रो निर्देशनमा तयार चलचित्र ‘सतीदेवी’ आगामी ४ साउनबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

नारीप्रधान चलचित्र सतीदेवीमा बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण कथा समेटिएको निर्माण पक्षको कथन छ ।

नारीको कथा बोल्ने चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,संदेश लिम्बु,पवन केसी,जगदीश अधिकारी लगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी,दिलासा र सारा सुवेदी छन् ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ ।

लमजुङ,तनहुँ कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रले हालै सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा,सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जित्न सफल भएको थियो। सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो।

चलचित्र वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ। चलचित्रको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।