अमेरिकामा पनि डिग्री माईलाको प्रिमियर गरिँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ चैत

नेपाली चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ आगामी शुक्रबार अर्थात् चैत्र ३० बाट रिलिज हुने भएको छ । सोही दिनबाट यो चलचित्र अष्ट्रेलियासँगै अमेरिकाको विभिन्न राज्यमा पनि प्रदर्शन हुँदैछ । रामबाबु गुरुङद्धारा निर्देशित यो चलचित्रको विदेश विक्री अधिकार सेभेन सिज इन्टरटेनमेन्टले किनेको छ ।

सो कम्पनीले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै अमेरिकामा अग्रीम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको छ । सिनेमाको ११ अप्रिलमा अभिनेता बुद्धि तामाङको उपस्थितिमा नेपालीहरुको बाक्लो बसोबासर रहेको लेकवुडको स्टार सिनेमा घरमा प्रिमियर शोको समेत आयोजना गरिँदैछ ।

अप्रिल १२ बाट भने सिनेमा अमेरिकाको लस एञ्जलस, डलास, ओहायो, पेन्सिलनेनिया र न्युयोर्क राज्यका १० बढि सहर तथा १९ अप्रिलबाट अमेरिकाकै सान फ्रान्सिस्को २० बढि शहरका सिने लाउन्ज, रिचमण्ड सिनेमार्कमा प्रदर्शन हुनेछ । अनि अप्रिल २६ बाट डेनभर कोलोराडो, एरिजोनामा रिलिज गर्ने तयारी छ ।

सिनेमा अप्रिल र मेको पहिलो सातामा अमेरिकामा करिब ७०० शो र ४० देखि ६० हजार दर्शकलाई सिनेमा देखाउने टार्गेट रहेको डायस्पोरा वितरक सेभेज सिजले जनाएको छ । अमेरिकाका ४० बढि थिएटरमा दैनिक बक्सअफिस र टिकटसहित सिनेमा रिलिज गरिनेछ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ । यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । यसका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् ।