दुई सातामा नेपालमा महाजात्राको १० करोड १४ लाख रुपैयाँको व्यापार


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ चैत

नेपाली चलचित्र ‘महाजात्रा’ आज शुक्रबारबाट तेस्रो सातामा प्रदर्शन सुरु भएको छ । जात्रा र जात्रै जात्राको सफलतापछि षट्कोण आर्ट्सले तेस्रो भागको रुपमा यो चलचित्र निर्माण गरेको हो ।

यो चलचित्र देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत रहँदा दुई सातामा महाजात्राले १० करोड १४ लाख रुपैयाँको व्यापार गरेको छ । वितरक कम्पनीका अनुसार यो चलचित्रले पहिलोसाता ६ करोड २४ लाख रुपैयाँको कुल व्यापार र दोश्रो सातामा ३ करोड ९० लाख रुपैयाँको कुल व्यापार गरेको हो । यसरी दोश्रो साताको अन्तिम दिन बिहिबारसम्म यो चलचित्रले नेपालबाट १० करोड १४ लाख रुपैयाँको कुल व्यापार गरेको छ ।

यो चलचित्रले तेश्रो साता पनि हलमा त्यत्तिकै शोहरु पाएको छ । पहिलो र दोश्रो साताको सफलताले तेश्रो सातामा पनि त्यत्तिकै शो पाएको हो । तेश्रो साताको आज शुक्रबार पनि व्यापार आकर्षक रररहेको छ । यो चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले सम्पूर्ण परिवारलाई दर्शक बनाएर हलसम्म ल्याउन आफ्नो चलचित्र सफल भएको बताएका छन् ।

‘फिल्म हेर्न तीन पुस्ता नै हल आउनुभएको पाएँ । उहाँहरू आउँदा जति खुसी हुनुहुन्थ्यो, फर्किदा झनै खुसी देखिनुहुन्थ्यो । दर्शकलाई सन्तुष्ट पार्नु नै हाम्रो सफलता हो’, निर्माता खत्रीले भने,‘हामीले नेपालसँगै विदेशमा पनि उस्तै व्यवसाय भएको विवरण प्राप्त गरेका छौँ । प्रवासमा आयोजित शोहरू सोल्ड आउट भएको देख्दा हर्षित भएका छौँ ।’

भारत बाहेकको फिल्म वितरणको अधिकार प्राप्त एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा दुईसातामा ५७ शो भएको छ । यस्तै, अमेरिकामा ५० शो, न्युजिल्यान्डमा १२ शो, युरोप अन्तर्गतका देशमा ३५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो भईसकेको छ । यी सबै शो सोल्ड आउट भएका थिए । मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ । मलेसियामा ६० शो भईसकेको छ भने युनाइटेड अरब इमिरेस्टमा दैनिक २० शो भइरहेको छ । अर्थात् नेपाल झैँ मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको छ ।

यो चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।