सातौं ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ न्युयोर्कमा हुने


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ चैत

बिदेशमा अहिलेसम्म नियमित रुपमा हुँदै आएको नेपाली चलचित्रको अवार्डको रुपमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ परिचित छ । अमेरिकामा बस्दै आएका अभिनेता नजराज श्रेष्ठको अध्यक्षतामा यो अवार्ड यस अघि ६ वटा सँस्करण सम्पन्न भईसकेको छ । यसै क्रममा यो अवार्डको सातौं सँस्करण घोषणा भएको छ । नेपाली चलचित्र गाउँदेखि विश्वसम्म नारा सहित यो अवार्ड आयोजना हुँदै आएको हो । यसै क्रममा ‘सातौं ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको न्यूयोर्कमा आउँदो २८ सेप्टेम्बरमा आयोजना गरिने अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी गराएका छन् ।

आयोजकको रुपमा नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डले सातौँ ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्ने अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए । अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सम्पन्न भएका थिए । यसपटक न्युयोर्कमा आयोजना गर्न लागिएको पनि श्रेष्ठले जनाए ।

अवार्डका अर्का आयोजक एवम् फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले कार्यक्रमबारे भने,‘चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदै आएको छ र यस वर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्षझैँ न्यूयोर्क शहरमा आयोजना गरिने भएको छ ।’

एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रयोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहने भएको छ ।

मुलत अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु अवार्ड आयोजनाको उद्देश्य रहेको आयोजक संस्था त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले बताए ।

‘नेपाललाई चलचित्र पर्यटनको गन्तव्य बनाउन अवार्डले भूमिका खेल्नेछ’, केसीले भन्नुभयो। अवार्डका लागि नेपालबाट अमेरिका आउने कलाकार र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विश्व माझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचारप्रसार गर्नु पनि अवार्डको उद्देश्य हो ।’ त्रिवेणी इन्टरटेनमेन्ट एसएलसी न्यूयोर्कका अर्का आयोजक खम लाल भट्ट बताए ।