श्रीमती सहित महाजात्रा हेर्न उपप्रधानमन्त्री लामिछाने फिल्म हलमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ चैत

कुनै समय चलचित्र पत्रकार संघका सदस्य रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफ्नो श्रीमती एमव् चलचित्र विकाश बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल लामिछानेसहित चलचित्र महाजात्रा हेर्न हलमा पुगे । उनले सामान्य रुपमा आम दर्शकसँगै बसेर यो चलचित्र हेरेका छन् ।

यो चलचित्र हेरेपछि निर्माण टोलीसँग कुरा गर्दै लामिछानेले भने,‘मलाई यो शृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो ।’ सोही कारण फुर्सदको समय सदुपयोग गर्दै महाजात्रा हेर्न आएको उनले बताए,‘नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ ।’

फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफू आकर्षित भएको उनले बताए । लामिछानेले राजनीतिज्ञका रुपमा चलचित्र हेरेपछि झनै ऊर्जा थपिएको छ भने, ‘फिल्ममा मनोरन्जनसँगै राजनीतिका विषय र देशको इस्युलाई समेटिएको छ । मैले त्यो हेरिरहदा झनै ऊर्जा महसुश गरे । म र मेरो पुस्ताका नेताको उदय नै त्यसलाई कम गर्न भएको हो । हाम्रो पुस्ताका नेता रहदा पर्दामा भ्रष्ट्राचार गर्ने नेताको सायदै देखिएलान’, उपप्रधानमन्त्री लामिछानेले भने ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । प्रदर्शनको तेस्रो दिन होली भएता पनि दर्शक हलमा भरीभराउ छन् । निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ लगायत होली कार्यक्रमसँगै प्रदर्शनको तेस्रो दिन आइतबार पनि विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि र परिवार नै दशक बनेर फिल्म हेर्न आएपछि प्रदर्शकले शो सङ्ख्या समेत बढाएका छन् । दर्शक प्रतिक्रिया लिईरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकले पहिलो हाफमा रहेको कमेडी र दोस्रो हाफमा रहेको राजनीतिक विषयलाई दर्शकले रुचाउनु भएको बताए ।

‘हाम्रो फिल्मलाई देशमात्र नभई विदेशमा पनि दर्शकले उत्तिकै माया गर्नुभएको छ । फिल्म हेर्नेले यसलाई शृङ्खलाकै उत्कृष्ट भनेर प्रतिक्रिया दिनुभएको छ । किनकि यसपटक फिल्मलाई मनोरञ्जनमा मात्र सिमित नराखी राष्ट्रिय विषयलाई उठाएका छौँ । सोही कारण जात्राबाट यसपटक महाजात्रा भयो । दर्शकले दुवै पक्षलाई रुचाउनु भएको छ’, अभिनेता बानियाँले भने,‘दर्शकसँगै देशका कला प्रेमी नेताबाट माया पाउँदा हामी कृतज्ञ भएका छौँ । उपप्रधानमन्त्री ज्युले हाम्रो फिल्मलाई हलमै आम बनेर हेरेपछि दिनुभएको प्रतिक्रिया हाम्रो लागि ऊर्जाको विषय हो ।’

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।