काठमाडौं, ८ फागुन
प्रजातन्त्र दिवसको अबसरमा सोमबार विपिन सलामीले जोशीला गजल र रञ्जना निरौलाका आकर्षक कविता सुनाएर काव्य प्रेमीको मन जितेका छन् ।

विगत पाँच महिनादेखी छायाँछविको आयोजनामा हुदै आएको साहित्यिक कार्यक्रमको छायाँछवि काव्य सृँखलाको फागुन संस्करणमा यी दुई श्रष्टा सोमबार आफ्ना सृजनाका साथ प्रस्तुत भएका हुन् ।

कार्यक्रमको प्रारम्भ गर्दै छायाँछवि काव्य शृङ्खलाकी संयोजक रश्मि रोदनले आफ्नो मुक्तकबाट प्रजातन्त्र दिवसको उपलब्धी टीप्पणी गरेकी थिइन् । रोदनले छायाँछवि काव्य शृङ्खला साहित्य, चलचित्र र संगीतको त्रिवेणी भएको चर्चा गर्दै यस्तो साहित्यिक कार्यक्रमले थोरै–धेरै साहित्यिक योगदान गर्ने बताईन् ।

कार्यक्रममा आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले स्वागत मन्तव्य राख्दै श्रष्टालाई मञ्च प्रदान गरेर नयाँ–पुराना श्रष्टालाई एकैठाउँ राख्दै चलचित्र, संगीत एवं साहित्यको एउटै आयाम बनाउन छायाँछवि लागि परेको वताए । छायाँछवि काव्य शृङ्खलाको छैठौं सिलसीला १७ चैत्रमा गरिने उनले जानकारी गराए ।
बागबजारको सिटीम्याक्स हलमा आयोजित कार्यक्रममा जब स्रष्टा विपिन सलामी गजल लिएर प्रस्तुत भए, उनले दर्शकलाई निरन्तर गजलबाट मन्त्रमुग्ध तुल्याए ।


‘म बगीरहेछु खोलाको पानी जस्तै
बाध मलाई कुलेखानी जस्तै ।

कसैले कठपुतली झै देश नचायो
यो गल्ती मेरो होइन अखवारको हो ।’

उनले जोशीला खालका यस्ता एक दर्जन गजलहरु सुनाए । सामाजीक, यथार्थपरक, श्रृंगारिक सबै प्रकारका गजल सलामीले सुनाएका थिए ।

लगत्तै मञ्चमा आएकी अर्की श्रष्टा रञ्जना निरौलाले पनि एक दर्जन जोशीला कविता प्रस्तुत गरेर दर्शकको मन जितिन् । उनले कवितामा आमा–आफू र छोरीको फरकलाई समेत यसरी प्रस्तुत गरिन्,

‘निर्धक्क म उसको काखमा राखेर शीर
अनन्त महशुष गर्छु म
मुस्काउछ सधै उ
रीसाउन जान्दै जान्दैम
यसैले म उसलाई प्रेम गर्छु ।’

रञ्जना निरौलाले प्रस्तुत गरेका कविताहरु प्रेमील सामाजीक, विविध आयाम र समसामयिक थिए । उनका केही कविता बिद्रोही पनि थिए ।

कार्यक्रममा अतिथीमा हाँस्य कलाकार एवं निर्देशक दीपाश्री निरौला एवं गजलकार, गीतकार करुण थापा थिए । कार्यक्रममा बोल्दै दीपाश्री निरौलाले मुक्तक समेत सुनाईन् । उनले यसखाले साहित्यिक कार्यक्रममा आउन पाएकोमा औधी खुशी लागेको बताइन् । अर्का अतिथी करुण थापाले यस्ता साहित्यिक अभियानले आफ्नो ठाउँमा योगदान पुग्ने भनाई राखे ।