राजेश हमालको सिनेमा सम्बाद, कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर


ब्युटी न्युज नेपाल
काठमाडौं, २ चैत

यतिबेला काठमाडौंमा नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) चलिरहेको छ । सातौं संस्करणको निफमा काठमाडौं, ललितपुर र भक्तपुरका क्युएफएक्स चेनका सिनेमा हलमा फिल्म प्रदर्शन भईरहेको छ भने काठमाडौंकै भृकुटी मण्डप स्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डका हलमा विभिन्न विषयमा अन्तरक्रिया चलिरहेको छ ।

यसै क्रममा शनिबार दिउँसो १२ बजेपछिबाट अभिनेता राजेश हमाल र पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिनेमा सम्बन्ध आयोजना गरियो । कार्यक्रमको नाम सिनेमा सम्बाद नै थियो ।

चलचित्र महोत्सबमा आयोजकले सिनेमा सम्बाद राख्नु अत्यन्त प्रसँसनीय कुरा थियो । त्यो पनि अभिनेता राजेश हमालबाट यो कार्यक्रम सञ्चालन हुनु निकै ठुलो कुरा थियो । तर यो सिनेमा सम्बाद सिनेमाको चुरो भन्दा पनि अन्य कुरोमै रुमलिएर सकियो ।

नेपाली चलचित्र उधोगमा अहिले तमाम समस्या छ । २०२६ सालमा बनेको चलचित्र ऐनकै आधारमा नेपाली चलचित्र उधोग चलेको छ । बिदेशी सिनेमा देखाएको भरमा ती सिनेमाको बिक्रीबाट उठेको चलचित्र विकाश शुल्कको पैसाबाट नेपाली सिनेमाको विकाश गर्नु पर्छ भन्ने मान्यताले सरकार ग्रस्त छ । सेन्सरको अबस्था पञ्चायती कालखण्डको भन्दा झन तानाशाही बन्दै छ । राज्यले मौलिक, सांस्कृतिक, राष्ट्रिय भावका सिनेमाहरुलाई निर्माणमा प्रोत्साहन गर्नु पर्नेमा यस्ता सिनेका निर्माताहरु राज्यको बेवास्ता गरेका कारण त्यस्ता सिनेमाका निर्माताहरु रोएर बसेका छन् । त्यस्ता निर्माताले कतीबेला घाँटीमा पासो लगाउने हुन भन्ने चिन्ता एकातिर छ । तर यस्ता धेरै तमाम समस्याहरु राजेश हमालको मुखबाट यो बहसमा सुन्न पाईएन । राजेश हमालले कार्यक्रममा सिनेमाका गम्भिर समस्या भन्दा आफ्ना जोकका कुरालाई महत्व दिए ।

यतिबेला नेकपा एमाले सरकारमा रहेको बेला पूर्व प्रधानमन्त्रीसँग अभिनेता राजेश हमालको सिनेमा सम्बादनमा सिनेमाका तमाम कुराहरुमाथि सम्बादन हुने आशा दर्शकले गरेका थिए । तर यसपटक अभिनेता हमालले पूर्व प्रधानमन्त्री ओलीसँग गरेको सिनेमा सम्बाद धार्मिक, आर्थिक, तथा व्यक्तिगत कुरातर्फ रुमलियो । बहसमा सिनेमा हैन, भगवान रामका कुरा भए । कस्ता सिनेमा बनाउने ? नेपाली सिनेमामा राज्यको पोलिसी कस्तो हुनुपर्छ भन्ने कुरा हैन। इन्द्र भगवानका कुरा भए । बर्षा, बादल, बिजुलीका कुरा भए । भुत प्रेतका कुरा भए ।

यसपटकको सिनेमा सम्बादमा दर्शकले राजेश हमालले कुन फिल्म खेले भन्ने कुरा सुन्ने आशा गरेका थिएनन् । न त दर्शकहरु न्याप्किन, देखि पानीसम्म, गाडी देखि एयर कन्डिसनसम्मका कुरा सुन्न गएका थिए । कार्यक्रमको नाम सिनेमा सम्बाद नराखेर ‘खुला सम्बाद’ नाम राखेको भए यो बहस अत्यन्त सान्दर्भिक हुन्थ्यो होला ।

राजेश हमाललाई फिल्मी हिरो भनेर पूर्व प्रधानमन्त्री ओलीले सम्झाईरहँदा पनि अभिनेता हमालको बहस सिनेमा तर्फ केन्द्रित भएन । हमालका मन गडन्ते विचारमा यसपटकको सिनेमा सम्बाद केन्द्रित भयो । आयोजकले अभिनेता हमाललाई सिनेमा सम्बादमा सिनेमाको कुरा गर्नु पर्छ भनेर यासद सम्झाउनु पर्दैन थियो होला । किनकी सिनेमा सम्बादमा गएर हमालले यसरी यसरी गैर सिनेमाको कुरा गर्छन भन्ने कल्पना सायदै आयोजकले गरेको थिएन होला । तर यसपटक हमालको सिनेमा सम्बाद विषयगत हिसाबले काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिर जस्तै भयो ।

धन्न राजेश हमालले पूर्व प्रधानमन्त्री ओलीलाई सिनेमा कत्तिको हेर्नु हुन्छ र कस्तो कस्तो हेर्नु हुन्छ भनेर सोध्न चाहीँ भ्याए है । जस होस हमालको ।