पुजार सार्कीमा मैत बहादुर बने प्रदीप, जन्मदिनमा पात्र परिचय दिने फोटो सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ फागुन

अभिनेता प्रदीप खड्काको जन्म दिनको अबसर पारेर उनीद्धारा अभिनित चलचित्र पुजार सार्कीमा यी अभिनेताको चरित्र– तस्बिर सार्वजनिक गरिएको छ । यही चलचित्रका निर्देशक दिनेश राउतले मैता बहादुरको रुपमा प्रदीप खड्काको दुई थान तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र पुजार सार्कीको छायाङ्कन चलिरहेको छ ।

मैता बहादुर बनेको प्रदीपलाई फोटोमा लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् । फोटोले उनी बाजा बजाउने पात्रको रूपमा रहेको जनाउँछ । निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । तर, निर्देशकले मैत बहादुरको थर भने खुलाएका छैनन् । यसको अर्थ प्रदीपले निभाएको चरित्र पहिचानको सङ्घर्षमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ’प्रकाश’मा सहकार्य गरेका थिए । महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’को कास्की जिल्लाको कास्कीकोमा छायाङ्कन भइरहेको छ ।

यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउन लागेको खबर बाहिरिएदेखि नै पुजार सार्की चर्चामा रहँदै आएको छ । यो चलचित्रले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । ’प्रसाद’, ’क्लासिक’, ’नोभेम्बर रेन’, ’प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । उनले यस चलचित्रलाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् ।