राम्रो र प्रसस्त सो नदिएपछि चलचित्र काँडेतर हलबाट उतारियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ फागुन

चलचित्र काँडेतार हलबाट उतार्ने घोषणा यसका निर्देशक अभिनेता नवल खड्काले गरेका छन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका खड्कको चलचित्रलाई पर्याप्त शोज र ‘प्राइम टाइम’ शोज उपलब्ध नगराएको भन्दै शनिबारबाटै हलमा नचलाउने नवल खड्काले घोषणा गरेका हुन् । उनले शनिबार एक बक्तव्य जारी गर्दै फिल्ममाथि संगठित गिरोह खनिएको समेत आरोप लगाए । उनको बक्तब्यमा यस्तो लेखिएको छ ः

चलचित्र काँडेतारको प्रदर्शन मिति २०८० वैशाख ११ गते सेन्सर पास गरेपछि करीव एक वर्षअघिनै चलचित्र प्रदर्शन मिति घोषणा गरिएको थियो। तर प्रदर्शन मिति नजिकिदै गर्दा “काँडेतार“ चलचित्रलाई असफल बनाउन चौतर्फी देशीविदेशी खुफियाहरु र त्यसका मतियारका रुपमा स्वदेशभित्रका केही तत्वहरू सलबलाई रहेका थिए।

काँडेतारका विरुद्ध शुरुवाती चरणमा नै विवादित बनाउन प्रयाश भयो। यसलाई सेन्सर बोर्डले काँटछाँट गर्न लगायो। त्यसपछि विभिन्न चरणमा यसका निर्माता र कलाकारहरुलाई प्रत्यक्षअप्रत्यक्ष धम्की आउन थाल्यो। प्रचार यसरी हुन थालेकी यो चलचित्र कुनै अमुक मुलुक विरोधी हो। यसकारण केही मधेश र हिमालका अति विवादित व्यक्तिहरुले यस चलचित्रलाई प्रतिवन्ध गर्न या नत्र सिनेमाहलमा आगो लगाउनेसम्मका वक्तव्यवाजी गरे।

अन्तिम चरणमा चलचित्रकका केहि हलमालिकहरु पनि काँडेतार चलचित्रमाथि अपरोक्ष बाधक बन्न पुगे। ती हलवालहरुले चलचित्र प्रदर्शनसम्बन्धी आम प्रचलनलाई मिच्दै काँडेतार चलचित्रलाई पर्याप्त शो दिएनन्।

स्मरण रहोस् कि विदेशी हिन्दी फिल्मलाई करिव ११५ वटा शो हल उपलब्ध गराइएकोछ। अङ्ग्रेजी फिल्मलाई करिव ७० वटा शो हल उपलब्ध गराइएको छ। चलचित्र शोमा प्राइम टाइम अति महत्वपूर्ण मानिन्छ । यही समयमा दर्शकहरु चलचित्र हेर्न निस्कन्छन्। तर चलचित्र काँडेतारलाई यस्तो प्राइम टाइम उपलव्ध गराइएन। तर हामी संगै रातारात सेन्सर गरेर जुधाउन ल्याईएका दुई अन्य चलचित्र प्रत्येकलाई करिव ८०÷९० वटा शोहरू प्राईमटाईममा दिईएको छ। तर हाम्रो देशभक्ति चलचित्र “ काँडेतार“ लाई मुस्किलले करिव २३ वटा शो दिईएको थियो । ती पनि बिहान ८,९ र १० बजेका अधिकास शोहरू छन् । जुन समय दर्शकहरू घरका दैनिक चर्याका कारण घरबाट निस्केर चलचित्र हेर्ने गर्दैनन्।

हामीलाई थाहा थियो कि हामीमाथि संगठित गिरोह खनिएको छ। तर यसमा चलचित्र हलहरुबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ हाम्रो कल्पनाभन्दा बाहिरको कुरा थियो। अन्तिम घडिमा चाल पाइयो तर त्यसबेला हामीले काँडेतारको प्रदर्शन रोक्न सम्भव थिएन। त्यसैले हामीले संकेतात्मकरुपमा चलचित्र शो गर्ने र आजबाट नै रोक्ने निर्णय गरेका थियौं, जुन कुरा हामीले चलचित्र हलवालालाई हिजो फागुन २५ मा नै जानकारी गराएका थियौं।

हामीले काँडेतार निर्माण गर्ने कुरा गरेदेखि नै विभिन्न अपमान र लाञ्छना भोग्दै आएका थियौं।  देशभक्ति चलचित्रमाथि किन यति धेरै विभेद ?
हामीले देशभक्ति चलचित्र बनाउनु के अपराध गरेकै हौ , के देशभक्ति कथामा बनेको चलचित्र चलचित्र नै होइन? ब्याबहारमा यस्तै देखियो।
यसको जवाफ हामीलाई सम्बन्धि सरोकारवालाले एक दिन दिनैपर्छ।

अतः यसरी देशभक्ति चलचित्र माथिको भद्दा मजाक हामीलाई सह्य छैन। यो देशभक्ति चलचित्रको अपमान मात्र होइन; यो सिङ्गो देश र देशभक्त नागरिकहरुको ठुलो अपमानको रूपमा हामिले लिएका छौँ। त्यसैले हिजो फाल्गुन २५ गतेबाट प्रदर्शनमा आएको देशभक्तिपूर्ण चलचित्र काँडेतार आजबाट निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले प्रदर्शन नगर्ने नगराउने निर्णय गरेको जानकारी गराउदछौँ। यसबाट पर्न गएको असुबिधाप्रति दर्शक अनि आम नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीप्रति क्षमाप्रार्थी छौँ ।हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सबै सबैप्रति ऋणि रहने छौँ। यो वा त्यो बहानामा चौतर्फि घेराबन्दी गरि देशभक्तिपूर्ण चलचित्र काँडेतार लाई सिद्धाउन लाग्ने धमिरा देशीविदेशी तत्त्वसँग उचित समयमा मेरो जिवनको निरन्तर  चलचित्र यात्रामा नसके पनि भाविपुस्ता ले लिनेछन् र लिनुहोला। बिचार कहिल्यै मर्दैन।

सिमानामा काँडेतार लगाएर माटो र मान्छे जोगाउने अभियानमा निरन्तर लाग्ने प्रण गर्दछौँ र आमा, देश र देशभक्त नेपालीजन अनि मनप्रति पुनः एकपटक सम्मान ब्यक्त गर्दछौं ।

धन्यवाद।

सामना फिल्मस् प्रा. लि. का तर्फबाट
– नवल खड्का। “ काँडेतार“ परिवार।