अफगान युद्धमा गोली लागेर बेहोस भएको गोर्खाली सैनिक रितेश अन्तत गोर्खा वारियरको नायक नै बने


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन

एउटा युवाले पाईलट बनेर हवाई जहाज उडाउने सपना साँचेर पाईलाटको शिक्षा हाँसिल गर्न लागेको बेला त्यो युवा एक्कासी अफगानिस्तानमा तालिवानसँग लडाईँ गर्न जाँदा कस्तो भयो होला ? त्यतिमात्र कहाँ होर, युद्धको क्रममा तालिवानको गोली लागेर ४ दिनसम्म बेहोस हुँदा त्यो व्यक्तिको हालत कस्तो भयो होला ? गोली लागेर अन्तत ज्यान बचे पनि जीवनभर खुट्टा चल्दैन भनेर डाक्टरहरुले घोषणा गर्दा ती व्यक्तिलाई कस्तो भयो होला ?

११ फागुनबाट प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’को अभिनेता रितेश चाम्सको बास्तविक कथा हो यो । रितेशले मँगलबार एक समारोहमा आफ्नो यो कथा सुनाउँदा उनले आँशु रोक्न सकेनन् । सो क्रममा सञ्चारकर्मीको पनि आँखा रसायो ।

यो चलचित्रको निर्माण टिमले सञ्चारकर्मीलाई धन्यबाद ज्ञापनगर्न राखेको ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा पत्रकारद्धारा सोधिएको एउटा प्रश्नको जवाफमा रितेशले आफ्नो बास्तविक कथा सुनाउँदै सबै भावुक भएका हुन् ।

आफु बेलायती सेनामा भएको र अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको घटना उनले यस अघि लुकाउँदै आएका थिए । युद्धको दर्दनाक पीडा उनले अहिलेसम्म खोल्न चाहेका थिएनन् । आफ्नो त्यो कालो इतिहाँस भएकाले सुरुमा उनले बताउन चाहेनन् ।

सञ्चारकर्मीको आग्रहमा उनको त्यो घटनाबारे निर्देशक मिलन चाम्सले केही खुलासा गरेपछि अभिनेता रितेशले आफ्नो कथा यसरी सुनाए ।
‘म गाउँमा सामान्य परिवारमा जन्मेको हुँ । स्कुलको पढाई सकिएपछि बैदेशिक रोजगारीमा जाने निर्णय गरेँ । मसँग अमेरिका, अष्ट्रेलिया जाने पैसा नभएका कारण बेलायती सैनिकमा भर्ती लाग्नुबाहेक अरु बिकल्प थिएन, त्यसैले म बेलायती सेनामा भर्ती लागेँ ।’

यसरी बेलायती सेनामा सिपाहींको रुपमा छानिएपछि नेपालबाट बेलायत जाने क्रममा रितेशले पहिलो पटक हवाईजहाज चढ्ने अबसर पाए । त्यतिबेला आकाशमा यती ठुलो जहाज उडेको देखेर उनी छक्क परे । त्यो जहाज कसरी उड्छ भनेर उनमा कौतुहलता जाग्यो र भविष्यमा आफुले पनि जहाज उडाउने सपना उनले सोही दिन साँचे ।

‘बेलायती सेनामा केही वर्ष जागिर खाएपछि मैले बिदा लिएर पाईलट कोर्ष गर्ने निर्णय लिएँ र त्यो कार्षको तयारीमा जुट्दै थिएँ । एक्कासी मलाई अफगानिस्तानको युद्धमा पठाउने निर्णय मेरो अफिसरहरुले गर्नु र त्यो निर्णयलाई मैले मान्नु बाहेक अरु बिकल्प थिए ।’ त्यतिबेला अफगानको युद्धमा बृटिस गोर्खा सेनाका नेपालीहरुको मृत्यु र घाईतेको खबर आईरहेको थियो । तैपनि शिरमा कात्रो बाँधेर गोर्खालीहरुको इज्जत जोगाउन र कतव्र्य पुरा गर्न उनले अफगानिस्तान जाने निर्णय गरे ।

‘हामी अफगानिस्तानको मरुभूमिमा झर्दै थियौं, जताततै धुलो उडेको थियो । हाम्रो हेलीकोप्टरमाथि लगातार तालिवानले गोली बारुद बषाएका थिए । हेलिकोप्टरबाट झरेर जवाफी फायर गर्ने क्रममा मेरो तिघ्रामा कतीबेला गोली लाग्यो मैले वास्तै गरिन् । तिघ्रामा पालेको जस्तो लागेको थियो, एकछिनमा म रगताम्मे भएछु भने मलाई छाडेर हेलिकप्टर माथि आकाशमा उड्न थालेको थियो । तर माथिबाट एकजना अफिसरले मलाई तर लडेको देख्नु भएपछि उहाँहरुले सबैको ज्यान जोखिममा पारेर भएपनि मलाई त्यहाँबाट उद्दार गरेर हेलिकोप्टरमा लानु भएछ । म चार दिनपछि होसमा आउँदा अस्पतालको बेडमा थिएँ र मेरो एउटा खुट्टा नचल्ने अबस्थामा थियो ।’

यो सुनाउँदै गर्दा निकै भावुक हुँदै रितेशले भने,‘जब मलाई डक्टरहरुले अब तिम्रो एउटा खुट्टा चल्दैन भन्नु भयो, त्यतिबेला मैले आफ्ना सबै सपनाहरु तुहिएको महसुुस गरेँ । अस्पतालबाट डिस्चार्ज भएर म यस्तो डिप्रेसनमा गएँकी मलाई सामान्य हुन तीन वर्ष लाग्यो । तर मैले हिम्मत हारिन । सबै प्रकारको थेरापी र आत्मविश्वासका कारण तीन वर्षमा म राम्ररी हिड्न सक्ने भएँ र सामान्य जीवनमा आएँ । त्यसपछि मैल अमेरिकाबाट पाईलटको कोर्ष पुरा गरेर इन्टरनेशलन हवाई जहाज उडाउन थालेका हुँ ।’

डक्टरले उनलाई ‘डिसेबल’को प्रमाणपत्र दिएपछि बेलायत सरकारले पनि रितेशलाई सेनाबाट सोही प्रमाणपत्रको कारण अबकास दियो । तर रितेशले आत्मविश्वास गुमाएनन्,‘मैले आफुलाई सामान्य नागरिकझैं प्रस्तुत गर्न तेक्वान्डो खेल्दै गएँ र आफुलाई शारीरिक एवम मानसिक रुपमा फिट बनाएँ । अहिले म तेक्वादोमा थ्रि डान बन्न सफल भएको छु । मैले सो क्रममा नेपालको ८१६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गर्न सफल भएँ । पटक पटक स्काई डाईभिङ पनि गरेँ । बेलायतबाटै अभिनयमा पाईनउड स्टुडियोबाट मास्टर डिग्री गरेपछि बल्ल म चलचित्र गोर्खा वारियरमा अभिनेता बन्न सफल भएको हुँ ।’

चलचित्र गोर्खा वारियर नै खेल्नुको कारणबारे रितेशले भने,‘मेरा हजुरबुबा पनि ब्रिटिस सेनाको सिपाही हुनुहुन्थ्यो र उहाँ मलायको युद्धमा घाईते हुनु भएको थियो । म पनि बेलायती सेना भएर अफगानिस्तानको युद्धमा घाईते भएको थिएँ । गोर्खा वारियरको कथा हजुर बुबाको, मेरो र हामीजस्ता कैयौं बास्तविक वारियर सिपाहीहरुको कथा थियो । जसरी भए पनि यो फिल्म खेल्नु पर्छ भनेर निर्देशकज्यूले भनेका सबै प्रकारका शारीरिक तथा मानसिक अभ्यासमा पास भएर यो फिल्ममा म छानिएको हुँ ।’

आँखाबाट आँसु पुच्दै अभिनेता रितेशले भने,‘युद्धदेखि जनयुद्धसम्म गोली लागेका हजारौं सिपाहीहरुको नेतृत्व गर्दै उहाँहरुको हौसला बढाउन पनि मैले यो फिल्म खेलेको हुँ । गोली लागेर डाक्टरले डिसेबल भनेका हामीजस्ता योद्धाले त्यसपछि पनि आफुलाई समाजमा सक्षम रुपमा प्रस्तुत गर्न सक्छन भनेर देखाउनु पनि मेरो उदेश्य थियो ।’ आफ्नो नीजि पीडा अरुलाई किन सुनाउनु भनेर यो कुरा यस अघि लुकाएको उनले बताए । यसरी उनले आफ्नो पीडा सुनाउँदा कार्यक्रममा सञ्चारकर्मीको पनि आँखा रसाएको थियो ।

मुलुकका १२० भन्दा बढी सिनेमा हलमा प्रदर्शन भईरहेको चलचित्र गोर्खा वारियरले पाँचौं दिन पनि राम्रो व्यापार गरिरहेको यसका निर्देशक मिलन चाम्सले सो क्रममा जानकारी गराए । वितरक व्यबस्थापक करण क्रेजीका अनुसार शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले प्रदर्शनको ४ दिनमा १ करोड ५१ लाख रुपैयाँको व्यापार नेपालमा गरेको छ ।

सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको चलचित्र गोर्खा वारियरमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई प्रशान्त थापा, राजेन्द्र घिमिरे, सुरेश राई, ज्योतिराज राई, सुमी राई, निर्मला राई परिवेश, नितम राईले संयुक्त रुपमा निर्माण गरेका छन् । निर्माताको रुपमा सुमन राई र सुस्मिता वाईवा रहेकी छिन् ।

गोर्खा वारियर चलचित्रमा एलिश कार्की र सुरेश राईको संगीत रहेको छ भने रवीन्द्र न्यौपाने र बाबु श्रेष्ठले खिचेका हुन् । चलचित्रको पटकथा, संवाद तथा लेखन निर्देशक चाम्स र गीरिराज घिमिरेको रहेको छ ।

तस्बिर : बद्री थापा/ब्युटी न्युज नेपाल