अब चलचित्रकर्मीको दुर्घटना बिमा १७५ रुपैयाँमै


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ फागुन

अब नेपाली चलचित्रकर्मीहरुले १७५ रुपैयाँमै दुर्घटना बिमा गर्न पाउने भएका छन् । त्यो पनि एक लाख सम्मको दुर्घटना विमा गर्न पाउने छन् । सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि। र चलचित्र संरक्षण मञ्च बिच उक्त आबधिक बिमा योजनाका बिषयमा सहमति भएको हो ।

सहमति पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल (रोजनं) र इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा मञ्चका उपमहासचिव तेज गिरी सहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिन सिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

चलचित्रकर्मीहरुको कामका दौरान अथवा अन्य भवितब्य घटनामा निधन भएमा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि बिमा प्रकृया अघि बढाइएको महासचिव तेज गिरीले जानकारी दिएका छन् । चलचित्र संरक्षण मञ्चले सहजिकरण गरि न्यूनतम एक लाख देखि अधिकत २० लाखसम्मको आबधिक विमा गर्ने योजना ल्याएको हो । यस योजनामा बार्षिक १७५ रुपैयाँ तिरेर १ लाखसम्मको विमा हुने ब्यवस्था छ भने उमेर र विमांक रकम अनुसार शुल्क फरक पर्न जाने उपमहासचिव गिरीले जानकारी दिए ।

सहमतिसँगै चलचित्र संरुक्षण मञ्चले आफ्ना सदस्य चलचित्रकर्मीको बिमा प्रकृया अघि बढाएको अध्यक्ष रखालले जानकारी दिएका छन् । उनले अन्य चलचित्रकर्मीलाई पनि यो योजनाको लाभ लिन आग्रह गरेका छन् ।

चलचित्रकर्मीको हक, हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्चमा पाँच सय भन्दा बढी सक्रिय सदस्यहरु रहेका छन् । मञ्चका अध्यक्ष रखालले यसबाट मञ्चमा आवद्ध सदस्यहरुलाई अत्यन्तै ठुलो लाभ मिल्ने बिश्वास लिएका छन् ।

यसैगरि इन्स्योरेन्स कम्पनीका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत खड्काले चलचित्र संरक्षण मञ्च मार्फत चलचित्रकर्मीहरु सँग जोडिन पाउँदा खुशी लागेको र चलचित्रकर्मीहरुको हितमा संस्थाले साथ र सहयोग गर्ने कुरा वताए ।