बिशाल लुम्बिनी लोकदोहोरी अवार्ड सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं २ फागुन

तेस्रो संस्करणको राष्ट्रिय ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्ड तथा सम्मान चलचित्र बिकास बोर्डको हलमा मंगलबार साँझ सम्पन्न भएको छ । कार्यक्रममा लोक तथा दोहोरी गीतसँग सम्बन्धीत ६२ विधाका करिब ५० भन्दा बढी कलाकारहरुलाई उत्कृष्ट अवार्ड तथा सम्मान प्रदान गरियो । सो कार्यक्रमको अवसरमा नेपाली लोक संगीतमा क्रियाशील करिब एक दर्जन अग्रज तथा अनुज स्रष्टा, सर्जक र केही पत्रकारहरु सम्मानित भएका थिए ।

दिवँगत कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ विशाल मुभिज प्रालिद्वारा आयोजित यो अवार्डमा गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता तथा विशाल मुमिजका अध्यक्ष हुम गैरेको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा वर्षको सर्वोत्कृष्ट मौलिक गीत जुरी अवार्डबाट गायक कृष्ण गैरे सम्मानित भए भने लोकगायक राजु परियार, सुरेन्द्र गुरुङ, रामचन्द्र, गायिका सिर्जना विरही थापा, जमुना राना, नायक शितल केसी, संगीत संयोजक राकेश सोनी, पत्रकार कबिराज ढकाल, मोफसलका पत्रकार दिपेन्द्र थापामगर लगायतलाई विभिन्न विधाबाट सम्मानित गरिएको थियो ।

अवार्ड कार्यक्रमका संरक्षक तथा वरिष्ठ लोकगायक इन्द्र जिसीले तौथो ‘विशाल लुम्बिनी’ अवार्डलाई अझ सभ्य र भब्य रुपमा सम्पन्न गर्न अहिले देखि नै गृहकार्यमा जुट्ने बताए । विशाल मुभिजका उपाध्यक्ष तथा अवार्ड कार्यक्रमका संयोजक धीरज खत्री हुन् ।