माईत पुगेर कान्छीको प्रचारमा व्यस्त श्वेता


काठमाडौं, २९ माघ
लामो समय देखि काठमाडौंमा चलचित्र ‘कान्छी’को निर्माणमा व्यस्त रहँदै आएकी अभिनेत्री एवँ चलचित्र कान्छीकी निर्माता श्वेता खड्का यतीबेला सोही चलचित्रका अभिनेता दयाहाङ राई सहित अर्को माईत चितवन पुगेकी छिन् । कान्छीको प्रचारमा मोफसल गएकी उनी आईतबार माईत चितवन पुगेकी हुन् ।
चलचित्र कान्छी ४ फागुनबाट देशव्यापी प्रदर्शनीमा छ । सोही कारण दयाहाङसँग श्वेता देशव्यापी प्रचार दौडमा उत्रिएकी हुन् । आफ्नो माईत चितवन स्थित भरतपुरमा उनले पत्रकार भेटघाट आयोजना गरेर आफ्नो चलचित्र कान्छीबारे जानकारी गराएकी छिन् ।
आईतबारको प्रेसमिटमा बोल्दै श्वेता र दयाले चलचित्र कान्छीले सबै प्रकारका दर्शकको मन जित्ने जिकिर गरे । ‘कोहिनूर’पछि फिल्म निर्माणमा फर्किएकी श्वेताले चितवन आफ्नो माईतघर रहेको समेत बताइन् ।
श्वेताको पहिलो चलचित्र ‘कहाँ भेटिएला’को छायाँकन चितवनमा गरिएको थियो । दिवँगत निर्देशक शिव रेग्मी निर्देशित सो चलचित्रमा श्वेताको नायकमा दिवँगत अभिनेता श्रीकृष्ण श्रेष्ठ थिए । कान्छीको बारेमा पत्रकारलाई जानकारी गराउँदै चितवनलाई आफ्नो माईतको रुपमा मान्नुको कारण बारे श्वेताले भनिन्,‘ मेरा प्रथम निर्देशक शिव रेग्मीको गाउँ चितवन हो र यहीँबाटै मेरो चलचित्र यात्रा सुरु भएको थियो, त्यसैले म यो ठाउँलाई माईती घर भन्न रुचाउँछु ।’


चितवन आउँदा श्वेताले दिवँगत निर्देशक रेग्मीकी पत्नी ज्ञानु रेग्मीलाई पनि सम्झिइन् । पत्रकार भेटघाटमा अतिथि रहेकी ज्ञानुले श्वेताको कान्छी सफल हुने विश्वास व्यक्त गर्दै यसैगरी हिम्मत गरेर अगाडी बढ्न र सफल हुन श्वेतालाई शुभकामना दिईन् ।
कार्यक्रममा बोल्दै अभिनेता दयाहाङले कान्छी समसामयिक कथावस्तुमा राम्रो चलचित्र बनेको जिकिर गरे । उनले भने,‘सानो सपना र ठुलो दुःख भोगाईका समग्र रुप नै कान्छी हो । तर पुरुषवादी सोचको कान्छी चलचित्र कान्छी होइन, यो त ममतामयी कान्छी हो ।’ आकाश अधिकारी निर्देशित कान्छीको युनिटसँगकाम गर्दा रमाईलो अनुभव पनि दयाहाङले सो क्रममा सुनाए ।
याम थापाको स्क्रिप्ट रहेको कान्छीमा श्वेता र दयाहाङसँगै नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ, जयनन्द लामालगायतको मुख्य भूमिका छ ।
राजनराज सिवाकोटीको संगीत रहेको कान्छीको चरी चट्ट परी… बोलको गीत एक करोड भन्दा माथि भिवर्ससँगै हिट भैसकेको छ । चलचित्र कान्छीलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । यो चलचित्रको बहुसँख्यक छायाँकन मुस्ताङमा गरिएको हो ।