राम्रो स्क्रिप्ट पाए खगेन्द्रले नलेख्ने


 

काठमाडौं । चलचित्र टलकजँग भर्सेज टुल्के, पशुपति प्रसाद, धनपति, डमरुको डँडी बियोको स्क्रिप्ट खगेन्द्र लामिछानेले नै लेखेका हुन् । यी सबै चलचित्रमा उनी मुख्य नायक छन् ।

खगेन्द्र यस्ता अभिनेता हुन्, जो आफैं स्क्रिप्ट लेख्छन र आफुले लेखेको चलचित्रको मुख्य भूमिकामा पनि आफैं हुन्छन् । यसै क्रममा अशोक शर्माको निर्माण निर्देशनमा बन्न लागेको चलचित्र ‘जय भोले’को स्क्रिप्ट पनि खगेन्द्रले नै लेखेका छन् । यो चलचित्रमा पनि उनी मुख्य भूमिकामै छन् ।१ फागनुबाट सुरु हुने यो फिल्मको छायाँकनका लागि पुरौ युनिट झापा जाँदैछ । जय भोलेको बिहिबार घोषणा सभा आयोजना गरिएको थियो । सो कार्यक्रममा खगेन्द्रले स्क्रिप्ट लेखनबाट सन्यास लिन सक्ने बताए ।
आफुले लेखेको चलचित्रमा मात्र मुख्य भूमिका निर्वाह गर्नुको कारण बारे सञ्चारकर्मीको प्रश्नमा खगेन्द्रले भने,‘राम्रो स्क्रिप्ट नपाएर म आफैंले स्क्रिप्ट लेख्दै आएको हुँ । यदी अरुले मेरा लागि राम्रो स्क्रिप्ट लेख्नु हुन्छ भने म उहाँहरुको स्क्रिप्टमा खेल्छु र स्क्रिप्ट लेख्नबाट सन्यास लिन्छु ।’
खगेन्द्रलाई अहिलेसम्म अरुको स्क्रिप्टमा चित्त बुझ्ने गरेको छैन । सोही कारण आफु स्क्रिप्ट लेख्न बाध्य हुनु परेको उनको दाबी छ । अब अरुले लेखेको स्क्रिप्टमा उनले कहिले काम गर्छन । त्यो हेर्न बाँकी छ ।