नायक राहुल केसी साईकल ससर…भन्दै आए बिना राउतसँग


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ बैशाख

नायक राहुल केसी १० वर्षपछि अमेरिकाबाट नेपाल फर्किएका छन् । दुई साता अघि उनले खड्क गर्बुजाको गीत राहुले…को भिडियोमा मा केकी अधिकारीसँग स्कृन शेयर गरेका थिए । यिनै अभिनेताले यतिबेला गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत साईकल सरर…को भिडियोमा मोडल बिना राउतसँग रोमान्स गरेका छन् ।

यो गीतको भिडियो बुधबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र विकाश बोर्डका सदस्यद्धय राजु केसी, रबी अधिकारी, अभिनेता गजित बिष्ट, यो गीतको भिडियोका अभिनेता राहुल केसी, अभिनेत्री विना राउतले यो गीतको एल्बमलाई बिमोचन गरेका छन् ।

आफुले अमेरिका रहेर पनि विभिन्न भिडियो र सर्ट फिल्ममा काम गरेको बताउँदै अभिनेता राहुल केसीले भने,‘एक दशकदेखि अमेरिकामा रहेर पनि मैले त्यहाँ म्युजिक भिडियो तथा सर्ट फिल्ममा अभिनय गरिरहेको छु । नेपाल आएको बेला गत साता खड्क गर्बुजा दाईको लाहुरे र यतिबेला उमेर तथा अनुजीको साईकल सरर…गीतको भिडियोमा अभिनय गरेको छु ।’ यो गीत निकै माधुर्य भएकोले आफुले बिनासँग यसमा अभिनय गरेको पनि उनले बताए ।

अभिनेत्री विना राउतले पनि राहुलसँग यो भिडियोमा काम गर्न निकै रमाईले भएको बताए । बिगतमा आफुले राहुलका विभिन्न फिल्म हेरेको र अहिले राहुलसँगै काम गर्दा अभिनय सिक्न पाएको पनि उनले बताईन् ।कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले नेपालमा बस्दा थुप्रै चलचित्रमा अभिनेताको रुपमा काम गरेर अमेरिका पुगेका अभिनेता राहुल केसीले त्यही रहेर नेपाली चलचित्र तथा गीत संगीतमा योगदान दिँदै आएको बताए,‘अनु र उमेशको स्वरमा रहेको साइकल सरर गीत जति मिठो छ । यो गीतमा राहुल र विनाको अभिनय पनि त्यत्तिकै राम्रो देखिएको छ ।’

गीतमा गायनसँगै लेखन र संगीत पनि उमेश मुस्कानकै छ । यो गीतका निर्माता तथा चलचित्र विकाश बोर्डका सदस्य राजु केसीले कार्यक्रममा भने,‘गीत एक पटक सुन्ने वित्तिकै मन परेर गीतको भाव अनुसारको भिडियो हामीले चितवनका विभिन्न पर्यटकीय स्थलमा छायाँकन गरेर बनाएका हौं । यो गीतको भिडियो सबैलाई मन पर्नेमा हामी विश्वस्त छौं ।’

समारोहमा यो गीतका गायक उमेश मुस्कानले गीत सृजना गर्दाको अनुभव सुनाए । यस्तै बोर्ड सदस्य रवि अधिकारी, अभिनेता गजित बिष्टले पनि गीत र भिडियोको प्रसँसा गरे । सौराहा लगायत विभिन्न सुन्दर स्थानमा छायाँकन गरिएको यो भिडियोमा अभिनेता राहुल र अभिनेत्री विनाको जोडी निकै सुहाएको छ । उनीहरु प्रेमिल जोडीको रुपमा भिडियोमा उत्रिएका छन् । यी दुईको रोमान्स आकर्षक छ ।

भिडियोको निर्मातामा रक्षा बानियाँ केसी, आकाश केसी र कार्यकारी निर्माता राजु केसी रहेका छन् । यो गीतको भिडियोलाई बुधबार नै केसिएम डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

गीतको भिडियोमा प्रमोद के भण्डारीको निर्देशन, देव दोर्जे लामाको छायाँकन, नविन निरौलाको सम्पादन, मोहन सुनुवारको निर्माण नियन्त्रण रहेको छ ।