चलचित्र विकाश बोर्ड सदस्यमा दुई पत्रकार रबी र केएल नियुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ चैत

चलचित्र विकास बोर्डको सञ्चालक समिति सदस्यमा दुई जना सञ्चारकर्मी नियुक्त भएका छन् । यसरी बोर्ड सदस्यमा नियुक्त हुनेमा चितवनका रबी अधिकारी र दाङका केएल बुढाथोकी (पीडित) रहेका छन् । सोमबारको मन्त्रीस्तरीय निर्णयबाट यी दुबै सदस्यमा नियुक्त भएका हुन् ।

रबी अधिकारी पेशाले सञ्चारकर्मीसँगै चलचित्र निर्माता र गीतकार पनि हुन् । हाल प्रेस सेन्टर नेपाल एशोसियट प्रदेश (चलचित्र पत्रकार शाखा)का संयोजक रबी चलचित्र पत्रकार संघ चितवन शाखाका पूर्व अध्यक्ष पनि हुन् । उनी बिगत डेढ दशकदेखि चलचित्र पत्रकारितमा सक्रिय छन् । गीतकार र कलाकारको रुपमा समेत चिनिएका रबी चलचित्र निर्माता पनि हुन् । उनले निर्माताको रुपमा चलचित्रहरु ‘पञ्चायत’, ‘बाबुकान्छा’ र ‘बद्रीबहादुर’ निर्माण गरिसकेका छन् । उनले चितवनबाट नमस्ते टिभी सञ्चालन गर्दै आएका छन् ।

यस्तै पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत रहेका पीडित पनि सञ्चारकर्मी र चलचित्रकर्मी हुन् । उनी हाल अखिल नेपाल चलचित्रकर्मी संघका केन्द्रिय सचिवका रुपमा क्रियाशिल छन् । पीडितले थारु भाषाको चलचित्र ‘भुइँयार’ र ‘लावाजुनी’ निर्माण तथा निर्देशन गरिसकेका छन् ।

चलचित्र विकाश बोर्डको एक जना सदस्य र केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)को तीन जना सदस्य नियुक्त हुन भने बाँकी छ । चलचित्र विकाश बोर्ड सदस्यमा नव नियुक्त अधिकारी र पीडितलाई ब्युटी न्युज नेपालका तर्फबाट सफल कार्यकालको शुभकामना ।