बाद्य बादनमै चर्चा कमाएका डिबी कालिज


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ जेठ

नेपाली साँगीतिक क्षेत्रमा दुई दशकदेखि सक्रिय सर्जक हुन दिल बहादुर बिसी (डिबी कालिज) । उनी मुलत साँगीतिक क्षेत्रमा कुशल बाद्यबादकको रुपमा लोकप्रिय छन् । त्यसो त उनी थुप्रै प्रकारका बाजा बजाउँछन् । तथापि उनले आफुलाई मादल बादकको रुपमा सार्थक बनाउका छन् ।

पाल्पाको रामपुरमा जन्मेका डिबीको बाद्यबादन प्रेरणा उनका काका हुम बिसी हुन् । बाल्यकालमा गाउँमा विभिन्न कार्यक्रममा काका हुमले मादल बजाउँदै अरुलाई नचाउँथे । त्यही समयबाट उनले पनि जानी नजानी काकाले बजाउने मादल बजाउन थाले । उनले मादल बजाएको देखेर प्राथमिक तहमा पढ्ने क्रममा शिक्षक बिष्णुमाया पँगेनी निकै प्रभावित भईन् । बाद्यबादनमा प्रेरित गर्न बिष्णुमायाले डिबीलाई स्कुलमा मादल उपहार दिईन् । यसरी मादल उपहारपाएपछि डिबीले स्कुलेका हरेक सांस्कृतिक कार्यक्रममा मादल बजाउँदै अरुलाई नचाउन थाले ।

यसरी स्कुलबाट मदलसँग डिबीको सम्बन्ध सुरु भएको थियो । स्कुले जीवन सकेर काठमाडौं आएपछि उनले बाद्यबादन पेशालाई रोजे । आफ्नै गाउँका लोकप्रिय गायक बद्री पँगेनीले उनलाई बाद्यबादनमा लाग्न प्रेरणा बेला बेलामा दिईरहे । त्यसपछि काठमाडौंमा मादल बजाएरै बाँच्न सक्छु भन्ने आत्म विश्वास यी कलाकारलाई बढ्यो ।

काठमाडौंको नगरकोट दोहोरी साँझमा पहिलो पटक उनले मादल बादकको रुपमा जागिर सुरु गरेका थिए । दुई दशक अघि मासिक ३५ सय रुपैयाँ तलबमा यो पेशा सुरु गरेका उनी अहिले काठमाडौंका व्यस्त र सफल बाद्यबादकका रुपमा लोकप्रिय छन् । नगरकोट दोहोरी साँझ हुँदै निरमाया दोहोरी साँझमा उनले लामो समय काम गरे ।

पछिल्लो समय उनी काठमाडौंको विभिन्न स्कुलमा मादल बजाउन सिकाउँछन् । साथै विभिन्न प्रत्यक्ष साँगीतिक कार्यक्रममा मादल प्रस्तोताको रुपमा उनी नै हुने गर्छन । मुलत मादल बजाउँदा बजाउँदै स्टेजमा प्रहसन गरेर हँसाउने विशेषताका कारण पनि डिबीलाई प्राय प्रत्यक्ष साँगीतिक कार्यक्रमहरुमा महत्वका साथ निमन्त्रण गरिन्छ ।

हालसम्म देश बिदेश गरेर उनले एक हजार भन्दा बढी स्टेज कार्यक्रममा मादल, हार्मोनियम, कि बोर्ड, ढोलक जस्ता वाद्यबादन बजाई सकेका छन् । गाउँमै मादल बजाउन सिकेका उनले अरु बाजा काठमाडौं आएर अन्य बजाउन सिकेका रहेछन् ।

नेपालसँगै डिबीले भारत, मलेशिया, दुबईलगायतका मुलुकमा पुगेर पनि त्यहाँ नेपालीहरुले आयोजना गरेको साँगीतिक कार्यक्रममा मादल तथा अन्य बाजा प्रत्यक्ष रुपमा प्रस्तुत गरिकेका छन् । बाद्यबादन पेशामै लागेर अहिलेसम्म परिवार पाल्न सकेको बताउने उनी यो पेशाबाट सन्तुष्ट र खुसी छन् ।

कोरोनाकाल भन्दा अघि नेपालमा धेरै नै प्रत्यक्ष साँगीतिक कार्यक्रमहरु हुन्थ्यो । त्यतिबेला विभिन्न कार्यक्रममा प्रत्यक्ष बाद्यबादनमा डिबीलाई भ्याई नभ्याई थियो । कोरोनाले दुई वर्ष साँगीतिक कार्यक्रम रोकियो । तर केही महिना यताबाट कोरोना कम भएपछि फेरी साँगीतिक कार्यक्रमहरु हुने क्रम बढेको छ । जसका कारण आफु पनि व्यस्त हुन थालेको उनले बताएका छन् ।