ब्युटी न्युज नेपाल
काठमाडौं, २ मँसिर

नेपालले पहिलो पटक मिसेस वल्र्डमा सहभागी हुने अबसर पाएको छ । मिसेस वल्र्डको फ्रेन्चाईज नेपालमा रिबन इन्टरटेनमेन्टले भित्राएको हो । यसै क्रममा विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठुलो र सफल प्रतियोगिता मिसेस नेपाल इंटरनेसनल अब मिसेस नेपाल वल्र्डको रुपमा आयोजना हुने भएको छ । आयोजक संस्था रिबन इंटरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वल्र्डको आधिकारिक फ्रेन्चाईजी लिएसँगै यो प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको छ । यो प्रतियोगिता अब वाई वाई मिसेस नेपाल वल्र्डका नाममा हुने भएको छ ।

अन्तराष्ट्रिय रुपमा ख्याति आर्जन गरेको मिसेस वल्र्डको फ्रेन्चाईजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाई समेत यो प्रतियोगितामा सामेल भएसँगै प्रतियोगिता वाईवाई मिसेस नेपाल वल्र्ड २०२१ का नाममा हुने आयोजक संस्थाका अध्यक्ष निशु कान्त झाले बताएका छन् । झाका अनुसार मिसेस नेपाल वल्र्डसँगै सोहि स्टेजमा मिसेस नेपाल इंटरनेसनल र एमएस इंटरनेसनल उपाधि विजेता पनि चयन गरिनेछ ।

यी तीनै प्रतियोगिताका लागि आगामी ४ मँसिर शनिवार पूरानो वानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ । आवेदन संस्थाको शंखमूलस्थित कार्यलय तथा नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट प्राप्त गर्न सकिनेछ ।

विभिन्न वर्ग र उमेरका प्रतिभाशाली व्यक्तिहरुको व्यत्तित्व र क्षमता बृद्धीका लागि विभिन्न प्रतिभामुलक स्पर्धा तथा सौन्दर्य प्रतियोगिता गर्दै आएको रिबन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ । यता मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगीत हुन पुगेको थियो भने यस वर्षदेखि परिमार्जित रुपमा यसलाई अगाडि बढाइनेछ ।

यो वर्ष मिसेस वल्र्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन् ।

अस्विनी झाको कोरियोग्राफी रहने यी प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण अगामी मंसिर ८ गतेदेखि नया बानेश्वोर स्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ ।