१०१ वर्षमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन 


ब्युटी न्युज नेपाल

काठमाडौं, २ भदौ

राष्ट्रकवि माधव प्रसाद घिमिरेको आज मँगलबार बेलुका ५ बजेर ५५ मिनट जाँदा निधन भएको छ । काठमाडौंको लैनचौर स्थित आफ्नो निवासमा १०१ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

केही पछिल्लो समय स्वास प्रश्वास सम्बन्धि समस्याबाट पीडित थिए । घरमै कृतिम अक्सिजन लिएर आराम गरिरहेका उनको सोही समस्याबाट निधन भएको परिवारले जनाएका छन् । अहिले उनको अन्त्यष्टीको तयारी हुँदैछ ।

१९७६ साल ओसोज ७ मँगलबार हालको लमजुङको पुस्तुङ (बाहुनडाँडा) मा जन्मिएका राष्ट्रकविको निधनको खबरले अहिले आफुहरु स्तव्ध भएका विभिन्न श्रष्टाहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

राष्ट्रकविको परिवारमा पत्नी महाकाली, दुई छोरा इन्दिबर र राजिब तथा  मञ्जु, उषा, किरण र ज्योती सहित ६ छोरी रहेका छन् ।

रामविलास (रचना १९९५) बाट खण्डकाव्यको यात्रा सुरु गरेका कवि घिमिरेको  पहिलो शोककाव्य कृति ‘गौरी’ २०१५ सालमा प्रकाशित भएको थियो । सो कृतिबाट उनी नेपाली साहित्यमा स्थापित भएका थिए ।

पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३) धर्तीमाता (२०३०), ‘नयाँ नेपाल’ जस्ता काव्यसंग्रहहरू, मालतीमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) जस्ता गीतिनाटकहरू,  ‘नवमञ्जरी’,  ‘घामपानी’,  ‘किन्नर किन्नरी’,  गीतसँग्रह उनका चर्चित कृतिहरु हुन् । घिमिरेद्वारा लिखित ऋतम्भरा महाकाव्य उनको अपूर्ण कृति हो ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको हो ।