कोरोनाबाट जनकपुरको २, मोरङ र काठमाडौंका १/१ को निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन

आज बुधबार मध्यान्नसम्म कोरोना सँक्रमणबाट थप ४ जनाको मृत्यु भईसकेको छ । मृतकहरु जनकपुर निवासी २ जना, मोरङ निवासी १ जना र काठमाडौं निवासी १ जना रहेका छन् ।

काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे किस्ट अस्पताल, ललितपुरमा मृत्यु भएको थियो । उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

२६ साउनमा उनलाई पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

यस्तै वुधबार नै जनकपुरकी एक महिलाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा कोरोना सँक्रमणबाट जनकपुरकी ३८ वर्षीया एक महिलाको मृत्यु भएको हो ।

जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक ७२ वर्षीय पुरुषको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति १२ बजेतिर मृत्यु भएको छ । उनी तीन सातायता मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए । जनकपुरधाममै रहेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो ।

मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत बुढीगंगा गाउँपालिका–२ गंगा चोक, मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहानी पख कोरोना सँक्रमणकै कारण मृत्यु भएको हो । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका उनालाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।