कोरोना बढेपछि सरकारले गर्यो यस्तो ८ निर्णय, होटल, यातायात फेरी बन्द


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ साउन

आज बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना सँक्रमण सम्बन्धि विभिन्न निर्णय गरेको छ । सो निर्णय अनुसार कोरोना सँक्रमण फैलिएको जिल्लाहरुमा अब झन कडाई गर्ने भएको छ ।

१ भदौबाट खुला गर्ने भनिएको लामो दुरीका निजी तथा सार्वजनिक यातायात तथा आन्तरिक र बाहृय हवाई सेवा १५ भदौसम्म नखोल्ने निर्णय मन्त्री परिषदको बैठकले गरेको छ । सरकारले आज गरेको थप ९ वटा निर्णयहरु यसप्रकार छन् ।

१. लामो दुरीका यातायात र हवाई सेवा रोकिए
देशमा फेरी मँगलबारबाट कोरोना सँक्रमण ह्वात्तै बढेपछि सरकारले अन्तरजिल्लाका निजी तथा सार्वजनिक यातायात र आन्तरिक तथा बाहृय हवाई सेवा भदौ १ मा नखोल्ने भएको छ । अब बन्द १५ दिन बढाएर भदौ १६ बाट मात्र खोल्ने भएको छ । यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट खुला गर्ने निर्णय गरेको थियो । ‘उद्धार फ्लाइट’बाट पनि दैनिक ५०० मात्र ल्याइने भएको छ । सरकारले अनुमति दिएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर २०० मात्र आउन अडान अनुमति दिइनेछ । यसरी आउनेहरुलाई उपत्यकामा क्वारेन्टिन गरिनेछ । क्वारेन्टिनमा बसेको ५ देखि ७ दिनभित्र पीसीआर टेष्ट गर्ने र संक्रमण नदेखिए मात्र सम्बन्धित गन्तव्यमा पठाइनेछ ।

२. दुई सय बढी सक्रिय संक्रमित जिल्लाबाट अन्यत्र जान रोक
सरकारले २०० जना भन्दा बढी कोरोना सँक्रमण सक्रिय भएका जिल्लाबाट अन्यत्र आवागमनमा रोक लगाएको छ । काठमाडौंमा पनि २०० भन्दा बढी सक्रिय सँक्रमित भएकाले काठमाडौं उपत्यकाको हकमा तीन जिल्लाबाहेक अन्यत्र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र वा स्थानीय प्रशासनको अनुमतिविना आवागमन गर्न पाइने छैन ।

३. अवैध आवागमनमा रोक, प्रवेश विन्दु घटाइयो
आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुलाई भारतबाट आउने प्रदेश विन्दुलाई २० बाट घटाएर १० मा झारेको छ । अब झापाको काँकडभिट्टा, मोरङको रानी, सिराहाका माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुका कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफान्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्र नेपालीहरु नेपाल आउन सक्छन् । यसरी आएकाहरुलाइै प्रवेश विन्दु रहेकै जिल्लामा क्वारेन्टिन गर्ने सरकारको निर्णय छ । यस्तै बिदेशी नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेशमा भदौ ३१ गतेसम्म पूर्ण रोक लगाइएको छ ।

४. आधा कर्मचारी वर्क फ्रम होम
यस्तै मन्त्री परिषदको बैठकको निर्णय अनुसार काठमाडौं उपत्यका र २०० भन्दा बढी संक्रमित भएको जिल्लामा आधा कर्मचारी मात्र कार्यालयमा बोलाउन र आधालाई वर्क फ्रम होम गर्न भनेको छ । निर्णयअनुसार सरकारी तथा गैरसकारी निकाय, बैंक तथा वीत्त संस्था र जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने कार्यालय र संघसंस्थाले विद्युतीय माध्यमबाट सेवा दिनुपर्नेछ । यसका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित गराउन र अन्यलाई घरमै सुरक्षित राखेर काम गर्ने प्रवन्ध गर्न भनिएको छ । विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न नसक्ने र बढी जनसम्पर्क हुने कार्यालयको सेवा प्रवाह स्थगित गरिनेछ ।

५. स्कुल नखुल्ने, बैठक र भेला गर्न रोक
सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै १ भदौबाट खोल्ने भनिएका साथै शैक्षिक संस्था तत्काल नखोल्ने भएके छ । साथै धार्मिक स्थलहरमा दैनिक नित्य पूजा बाहेक अरु गतिविधि नगर्न र चाडपर्व घरभित्र मनाउन भनेको छ । अत्यावश्यक बाहेक कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, भेलाजस्ता सामूहिक जमघट नगर्न भनेको छ । साथै शैक्षिक संस्था, मनोरञ्जन स्थल, हेल्थ क्लब, समूहिक रुपमा खेलिने खेल, पुस्तकालयहरु तत्काल नखुल्ने भएको छ ।

६. ठेलाको व्यापार बन्द
यस्तै फुटपाथ, ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार तथा कवाडी संकलनमा सकारले रोक लगाएको छ । कोभिड(१९ को संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

७. होटल रेष्टुरेन्टबाट किनेर लैजान मात्र पाईने
अब काठमाडौं उपत्याक सहित २०० जना भन्दा बढी कोरोना सक्रिय सँक्रमित भएका जिल्लाका होटलहरुमा किनेर घरमा लाने ‘टेक अवे’ तर होटलमा बसेर खान नपाउने निर्णय भएको छ । साउन १५ बाट सबै होटल तथा रेष्टुरेन्ट खेला गरिएको थियो । तर जनस्वास्थ्य मापदण्ड पालना नभएको तथा भिडभाड गरेकाले अब ‘टेक अवे’ सेवा मात्र दिन पाउने व्यवस्था गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

८.निजी अस्पताल पनि प्रयोग गर्ने
सरकारले लक्षण नभएका संक्रमितहरुलाई राख्न आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । संक्रमण बढेको स्थानमा अस्पतालको क्षमता अध्ययन गरी निजी तथा शिक्षण अस्पतालहरुलाई समेत प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने र स्वास्थ्यले जनशक्ति खटाएर सेवा सुदृढ बनाउने पनि निर्णय आजको बैठकबाट भएको हो ।