बिदेशमा २९२४३ नेपाली कोरोना मुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ साउन

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमणले यो साता बिदेशमा रहेका नेपाली मध्ये थप १ जना नेपालीको ज्यान लिएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा १ जनाको नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् । अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।

यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत एनआरएनहरुलाई आह्वान गरेको छ ।