अयोध्या नेपालमा भएको प्रधानमन्त्रीले बताएपछि भारतमा विरोध


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार

यतीबेला भारतीयहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरिहरेका छन् । प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि भारतीय जनता पार्टीले प्रधानमन्त्री ओलीको विरोध गरेको हो ।

श्रीरामको जन्मभूमि अयोध्यालाई नेपालमा छ भनेर प्रधानमन्त्री ओलीले गलत अभिव्यक्ति दिएको भारतीय जनता पार्टीले जनाएको छ । भारतको अयोध्याबासीले त प्रधानमन्त्री ओलीको भनाईको खरो विरोध गरेका छन् ।

भानुजयन्तीको अवसरमा मदनभण्डारी कला साहित्य प्रतिष्ठानले सोमबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताए,‘हामी अहिले पनि भ्रममा छौं हामीले भारतका राजकुमार रामलाई दियौं भनेर । तर, भारतका राजकुमारलाई होइन, सीता अयोध्याका रामलाई दिएका हौं । अयोध्या भनेको वीरगन्जभन्दा पश्चिमको गाउँ हो, जुन नेपालमा नै पर्छ,’ प्रधानमन्त्री ओलीले भने । ओलीको यस्तो भिडियो आएपछि भारतमा विरोध भएको हो ।

प्रधानमन्त्री ओलीले भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको बताउँदै अयोध्या वीरगन्जको पश्चिमपट्टि ठोरीमा, वाल्मीकि आश्रम यही नेपालमा रहेको बताए । प्रधानमन्त्री ओलीले दशरथबाट सन्तान नभएपछि पुष्टि यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै ओलीले भने, ‘दशरथका सन्तान राम पनि भारतीय हुँदै होइनन्, अयोध्या पनि भारतको होइन, नेपालको हो ।’

प्रधानमन्त्री ओलीले अयोध्या भारतले आफ्नो भनी दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे भनेर प्रश्न गरे । ‘त्यसबेला टेलिफोन मोबाइललगायतका आधुनिक सञ्चार माध्यम केही थिएन त्यसैले नजिकै वरवधु खोजिन्थो र विवाह गरिन्थ्यो, टाढा पुग्ने काम हुँदैनथ्यो,’ प्रधानमन्त्री ओलीले भने ।

अयोध्या ठोरीमा भएका तर्कलाई पुष्टि गर्ने आधार दिँदै उनले भने, ‘रामले सीतालाई (अहिले भनिँदै आएको) अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मीकि आश्रममा छोडेको होइन ।’

प्रधानमन्त्री ओलीले सो क्रममा बोल्दै भने,‘उनले मिथिलाको जनकपुर ज्ञान केन्द्र रहेको छ । त्यतिबेला विद्वान् विदुषीबीच विमर्श गर्ने परम्परा रहेको र नारायणीको सुरम्य किनारमा वाल्मीकिको आश्रम हुनु, कोसी तटमा कौशिकी रहनु, आयुर्वेदका प्रणेता धन्वन्तरि र चरक यतैका हुनाले हिमवत्खण्ड नै ज्ञानभूमि तपोभूमि हो भन्ने स्पष्ट हुन्छ ।’