विदेशमा ९२ प्रतिशत नेपाली संक्रमणमुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले विदेशमा कोरोना भाइरसका सँक्रमित नेपाली मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको जनाएको छ । एनआरएन प्रेस सँयोजक चिरन शर्माले एक विज्ञप्ति मार्फत विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको बताएका छन् ।

गैर आबासीय नेपालीमा संक्रमणको दर उल्लेख्य रुपमा कमी हुदै गएको पनि उनले बताए । शर्माका अनुसार हिजो शनिवार बेलुकासम्म विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएका छन् ।
संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा बृद्धि भएको छ ।

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जनामा संक्रमण फैलिएको छ । ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । यसअघि गतसाता सम्म १४ देशमा संख्या १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको छ ।

नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरुलाई कडाईका साथ पालना गर्न समितिले आग्रह गरेको छ ।