सिन्धुपालचोकमा भिषण बाढी, जम्बुमा बाढीबाट २ को मृत्यु, २१ बेपत्ता


ब्युटी न्युज नेपाल
सिन्धुपाल्चोक, २५ असार

बेलुकादेखिको अबिरल वर्षका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको भीषण बाढीले दुई जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । जसमा एक जना चिनिया नागरिक पनि बेपत्ता भएका छन् । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले बगाएका दुई जनाको शव फेला परेको थियो ।

बाह्रविसे नगरपालिका–५ जम्बु निवासी २० वर्ष निकेश बस्नेत र उनको ३ वर्षीया छोरीको शब भेटिएको बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमा फुन्जु शेर्पाले जानकारी दिए । बाढीले अरनीको राजमार्ग बगाएकाले यतिबेला बाह्रबिसे नगरपालिका र भोटेकोश गाउँपालिका सडक सञ्जालबाट पूर्ण विच्छेद भएको छ । बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमा शेर्पाले जानकारी दिए । त्यस क्षेत्रको १५ घर र नजिकै रहेको जम्बु बस्तीको १५–१६ घरलगायत केही सवारी साधन बगाएको छ ।

सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।त्यस्तै बाढीमा बेपत्ता भएकाहरुको आज बिहान ५ बजेबाट खोजी कार्य सुरु गरीएको छ । बाढीले खाडीचौरमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पुर्याएको छ ।

अहिले सो क्षेत्रमा स्थानीय व्यक्तिहरु सहित सुरक्षाकर्मीले बाढीबाट बेपत्ता भएकाहरुको खोजी सहित उद्धार गरिरहेको पनि नगरप्रमुख शेर्पाले जानकारी गराए । त्यहाँ अझै मौसम प्रतिकुल भएका कारण खोजीमा गाह्रो भईरहेको पनि उनले बताएका छन् ।