संविधान संसोधन विधेयक पारितसँगै निशान छापमा नयाँ नक्सा


ब्युृटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ

आज संघीय संसदमा प्रस्तुत गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित गरिएको छ । हालै नेपाल सरकारले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर पारित गरेको नेपालको नक्सा सहितको निशान छापलाई संसदले पारित गरेको छ ।
आज सम्पन्न प्रतिनिधिसभाको बैठकमा यो विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो ।

मतदान हुने बेला संसदमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । र, संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे । निशान छापमा नेपालको अहिलेको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गरिएको थियो ।

संविधान संशोधन सम्बन्धि विधेयक पारितको क्रममा सत्तापक्ष तथा विपक्ष सबैले यो विधयक पारितलाई ऐतिहाँसिक कार्यको रुपमा व्याख्या गरे । अब जमिन फिर्ता लिन सबै एकजुट भएर लाग्नु पर्ने पनि उनीहरुले बताए ।

भारतीय अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले जेठ ७ गते नक्सा जारी गरेर आफ्नो नक्सामा राखेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो ।

आज संसदबाट नेपालको नयाँ नक्सा सहितको संविधान संशोधन पारित भएपछि नेपालीहरुले विभिन्न ठाउँमा दिपाबली गरेका छन् । यसलाई नेपाली जनताले पनि ऐतिहाँसिक दिनको रुपमा लिएका छन् ।