आज एकै दिन ४४८ जनालाई कोरोना, सँक्रमित ५०६२ पुगे, थप १ मृत्यु पुष्टी


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० जेठ

आज नेपालमा ४४८ जनालाई कोरोना सँक्रमण देखिएको छ । जसमा ४२४ जना पुरुष र २४ जना महिला रहेका छन् । गएको २४ घन्टामा यती धेरै सँक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा एकै दिन यतीधेरै कोरोना सँक्रमित देखिएको आज पहिलो पटक हो । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ५ हजार नाघेको छ ।

नेपालमा कोरोना सँक्रमितको सँख्या ५ हजार ६२ पुगेको छ । जसमा पुरुष ४ हजार ७०९ र महिला ३५३ जना रहेका छन् । हालसम्म ७२ जिल्लामा कोरोना सँक्रमण देखिएको छ ।

प्रवक्ता गौतमका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देही र महोत्तरी १६/१६ जना, धनुषा र बर्दियाका १५/१५ जना, झापा र पर्वतका १३/१३ जना, सिराहाका ११ जना, सुनसरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमका चितवन र दाङका ८/८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर र मोरङका ३/३ जना, नवलपरासी, प्युठान, अर्घाखाँची २/२ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै थप एक जनाको मृत्यु पुष्टी भएसँगै कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या १६ जना पुगेको पनि प्रवक्ता डा.गौतमले बताएका छन् । मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बिहिबार कोत्रेखोलामा मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा ५७ वर्षका एक पुरुषको बाटोमै मृत्यु भएको थियो । उनी १२ दिन अघि भारतबाट आएर क्वारेन्टाईनमा सबेका थिए ।

यस्तै नेपालमा कोरोना सँक्रमण निको भएर घर फर्कनेको सँख्या ८७७ जना पुगेको छ । हाल विभिन्न अस्पतालको आईसोलेसनमा ४ हजार १६९ जनाको उपचार भईरहेको पनि प्रवक्ता गौतमले बताए ।