प्रेमिकाको घरमा प्रेमी भेटिए झुन्डिएर मरेको अबस्थामा


ब्युटी न्युज नेपाल
बिराटनगर, २६ जेठ

प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला परेपछि सिरहाको औरही गाउँपालिका वडा नम्बर –५ मा तनाव सृजना भएको छ । मृतकका आफन्तले आत्महत्या नभएर हत्या हुनसक्ने आरोप लगाएका छन् । स्थानीय १७ वर्षीय अबिरचन यादव आफ्नो प्रेमिकाको घरमा गएराती झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी सोही ठाउँमा स्थानीय जोगिन्द्र यादवको घरमा प्रेमिकालाई भेट्न आईतबार राती पुगेका थिए । मृतककी प्रेमिका ती किशोरीले आफू अबिरचन झुण्डिएको घरमा नसुतेको प्रहरी समक्ष बताएकी छन् ।

मृतक अबिरचनका परिवारले भने हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् । मृतक अबिचरनको शव जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि लहान अस्पताल पठाएको छ। घटनाको विषयमा अनुसन्धान थालिएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् ।

मृतक अबिरचनको नाकबाट रगत बगेको छ। नाकमा चोट लागेकाले रगत बगेको प्रहरीले बताएको छ । नाकको चोट देखेर परिवारले हत्याको शँका गरेका हुन् । आफ्नो छोराको प्रेमको बिरुद्ध केटीको परिवार रहेको पनि मृतकमा परिवारले जनाएका छन् ।

अबिरचन राति करिब १ बजे झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । ती किशोरीले आफू ट्वाइलेट गएर फर्किने क्रममा घर उक्त घर पस्दा अबिरचन झुण्डिएको देखेपछि हजुरआमा र बुवालाई जानकारी गराएको बताएकी छन् । स्थानीयका अनुसार अबिरचन र जोगिन्द्रकी छोरीबीच प्रेम सम्बन्ध थियो । अबिरचनले किशोरीलाई विवाहको लागि दबाब दिईरहेको पनि एक स्थानीयले बताएका छन् ।