बैतडी र डोटीको क्वारेन्टाईनमा एक, एक पुरुषको निधन 


ब्युटी न्युज नेपाल

नेपालगञ्ज, २५ जेठ

सुदुरपश्चिममा विभिन्न क्वारेन्टाईनमा बस्नेहरुको मृत्यु हुने क्रम बढेको छ । यसै क्रममा क्वारेन्टाईनमै थप दुईजनाको मृत्यु भएको छ । मृतक दुबै जनाको कोरोना भाईरस परिक्षणको लागि स्वाब ल्याबमा पठाईएको छ ।

डेटी जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा २० जेठदेखि बस्दै आएका एक स्थानीय १९ वर्षीय युवकको आज बिहानी पख ३ बजे मुत्यु भएको हो । उनी १९ जेठमा भारतको लुधियानाबाट डोटी आएका हुन् । आज बेलुकासम्म कोरोनाको रिपोर्ट आएपछि मात्र उनको शव उठाईने छ ।

यस्तै शनिबार बिहानबाट क्वारेन्टाईनमा बस्दै आएका बैताडी स्थित पाटन नगरपालिकाका ३१ वर्षीय पुरुषको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा निधन भएको छ । उनको शनिबार बेलुका साँढे ८ बजे मृत्यु भएको हो । उनी भारतको बेंगलोरबाट आएर शनिबार बिहान त्यहाँ बसेका हुन् ।

स्वास प्रश्वासको समस्या रहेका ती युवा एक्कासी क्वारेन्टाईनमा बेहोस भएपछि उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ भने कोरोनाको रिपोर्ट आएपछि मात्र अन्तिम सँस्कार गरिने भएको छ । तर आफन्तले शब मागिरहेका छन् ।