बिदेशमा कोरोनाबाट थप ६ नेपालीको मृत्यु, सँक्रमित जम्मा नेपाली १४४५४


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ जेठ

बिदेशमा रहेका नेपालीहरुमा बिगतको तुलनामा यो साता कोरोना सँक्रमण र मृत्युदर घटेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आईतबार एक विज्ञप्ति जारी गर्दै शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणमा कमी आएको बताएको छ ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार यो साता भित्र विदेशमा कोरोना सँक्रमणबाट ६ जना नेपालीको मृत्यु भयो । यस्तै एक सातासम्म विदेशमा १४ हजार ४५४ जना नेपालीमा कोरोना संक्रमण भएको छ । कोरोनाबाट हालसम्म ५ हजार ५९० जना संक्रमण मुक्त भएका छन । सापकोटाले यो साता संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी आएको बताएका छन् ।

कोरोनाबाट यो साता बिदेशमा रहेका मृतक नेपालीमा कतारमा ४ जना, कुवेतमा १ जना, बेलायतमा १ जना गरी ६ जना रहेका छन् । हालसम्म नेपालबाहेक विभिन्न विदेशमा १ सय २५ जना गैरआवासीय नेपालीहरुको कोरोनाका कारणले निधन भएको पनि सापकोटाले बताएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्र्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।