आगलागीमा परेर आमाछोरीको निधन


ब्युटी न्युज नेपाल
बिराटनगर, २२ जेठ,

आज बिहान ८ बजेतिर धरान उपमहानगरपालिका – १५ साम्पाङ टोल नरबहादुर श्रेष्ठको घरमा भएको आगलागीमा दुई जनाको जलेर निधन भएको छ । निधन हुनेमा ८७ वर्षीय आमा धनमाया श्रेष्ठ र ५८ वर्षीय छोरी सीता श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार घरमा आगलागी भएपछि श्रवणशक्ति कम भएकी छोरीलाई आमाले बोलाउँदा सुनिनन् । त्यसपछि छोरीलाई आगोबाट बचाउनको लागि निकाल्न जाँदा आमा समेत जलेको न्यौपानेले बताएका छन् ।

उनका अनुसार दुई तल्ले घरको दोस्रो तल्लामा आमा छोरी बस्दै आएका थिए । आगलागी भएपछि छिमेकीले आमालाई घरबाट निकालेका थिए । तर आमा नै फेरी छोरी लिन गएपछि आगो बढ्यो र आमा पनि जलिन् ।
नगरपालिकाको वारुण यन्त्रले आगो नियन्त्रणमा ल्याईए पनि आगो लाग्नुको कारण खुलेको छैन ।