पाल्पाको आईसोलेसनमा एक पुरुषको निधन, कोरोना परिक्षण हुँदै


ब्युटी न्युज नेपाल
पाल्पा, २० जेठ

भारतको मुम्बईबाट फर्किएका एक जना ४६ वर्षीयपुरुषको उपचारको क्रममा युनाइटेड मिशन अस्पताल पाल्पाको आईसोलेसनमा मृत्यु भएको छ । उनी पाल्पाको पुर्वखोला गाउँपालिका १ सिलुवाका हुन् । उपचारको क्रममा ४६ बर्षिय राम बहादुर दिसुवा मगरको मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

दिवँगत मगर तीन दिन अघि भारतको मुम्बाइबाट घर आएका थिए । उनी आईतबार राती गाउँ आएर पूर्वखोला गाउँपालिका वडा नं २ जल्पा शम्भु माविको क्वारेन्टनमा बसेका थिए । गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालका अनुसार क्वारेन्टाइनमा उनलाई कोरोना संक्रमणसंग मिल्दोजुलो लक्षणहरु देखापरेपछि उपचारका लागि मिशन अस्पताल रिर्फर गरिएको हो ।

बिरामी परेका दिसुवाको कोरोनाको शंकामा स्वाब परिक्षणको नमूना सोमबार संकलन गरेर सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोशालामा पठाइएको छ । उनको रिर्पोट आउन बाँकी छ । उनले अन्य रोगको औषधी खाने गरेको खुले पनि मृत्युको कारण खुलेको छैन । मृत्युपश्चात पुन कोरोना परिक्षणका लागी दोस्रो पटक स्वाब संकलन गरिएको छ ।