बाँकेमा गाडी दुर्घटन, १२ को मृत्यु २१ घाईते


ब्युटी न्युज नेपाल
नेपालगञ्ज, १९ जेठ

बाँकेमा गएराती १२ बजे हायस गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । हायस गाडी र ट्रक ठोक्किँदा सो दुर्घटनामा २१ घाइते भएका छन् । नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रक राति करिब १२ बजे राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा ठोक्किएर दुर्घटना भएको हो । सो गाडी भारतबाट घर फर्केका नागरिकलाई लिएर सल्यान जाँदै थियो ।

दुर्घटनामा ११ जनाको घटनास्थलमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरुको सनाखतको काम भइरहेको छ । मृतक ११ पुरुष र एक महिला छन् ।

मृत्यु भएकाहरुमध्ये दुई जनाको सनाखत भएको छ । गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको हो । अरु १० जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । वलीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ ।