कोरोनाबाट नेपाल सहित विश्वभर १२८ नेपालीको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ

पछिल्लो समय विश्वभर नेपालीहरुको मृत्युको सँख्या कोरोना भाईरसका कारण बढीरहेको छ । नेपालमा पनि कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ७ जना पुगेको छ । शनिबार मात्र नेपालमा थप एक मृतकमा कोरोना सँक्रमण पुष्टी भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना भाइरस (कोभिड–१९) बाट शनिवारबेलुकासम्म नेपालबाहेक अन्य देशमा १२१ जना नेपालीहरुको मृत्यु भएको छ । नेपालमा थप ७ जनाले कोरोनाबाट ज्यान गुमाउँदा अहिलेसम्म १२८ जना नेपालीको कोरोना सँक्रमणबाट ज्यान गएको छ ।

एनआरएनएका अनुसार यो साता बहराइनमा २ जना, सँयुक्त राज्य अमेरिकामा १ जना, युएईमा १ जना, युकेमा १ जना १, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको कोरोना भाईरसबाट ज्यान गएको हो ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।
त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ, यस्तै साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्डमा १ जना, र स्वीडेनमा १ जनाको मृत्यु भएको छ । संयोजक डा.सापकोटाका अनुसार नेपाल बाहेक १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यो साता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको पनि सापकोटाले जानकारी दिएका छन् । संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिए ।