अमेरिकन आईडलको उत्कृष्ट २० मा दिवेश


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ चैत

‘अर्थर गन’को नामबाट परिचित नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलमा उत्कृष्ट २० भित्र पर्न सफल भएका छन् । काठमाडौंका दिवेश बिगत ७ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

अमेरिकन आईडल प्रस्तुत गर्दै आएको एबिसी टेलिभिजनले आइतबार प्रशारण गरेको एपिसोडबाट गायक दिवेश उत्कृष्ट २० मा पर्न सफल भएका हुन् । उनले गीत प्रस्तुत गरिसकेपछि निर्णायकले उठेरै उनको प्रस्तुतिको प्रसँसा गरे ।

अडिसन राउन्ड र अर्को एक राउन्डमा उत्कृष्ट प्रस्तुति दिएका दिवेशले टप २० राउन्डमा बब मर्लिनको चर्चित गीत गायर दर्शकसँगै निर्णायकको मन जित्दै उत्कृष्ट २० भित्र परेका हुन् । हजारौं दर्शक परिवारका बीच उनले गीत प्रस्तुत गर्दा सबै झुमेका थिए । सो क्रममा निर्णायकहरुले पनि उनको गायकीको खुलेर प्रसँसा गरिरहेका थिए ।

अरुलाई उत्कृष्ट २० मा चयन गर्न केही गाह्रो भए पनि दिवेशलाई उत्कृष्ट २० मा छान्न आफुहरुलाई कुनै गाह्रो नभएका निर्णायक त्रयले बताए । दिवेशलाई गायनमा उदाउँदो तारको सँज्ञा पनि उनीहरुले दिए । दिवेशले निर्णायकहरुलाई धन्यबाद दिँदै आफु यो सपना पुरा गर्न निरन्तर लागिरहने बताए ।