प्राविधिक संघले आजबाट विपन्न प्राविधिकलाई राहत वितरण गर्दै


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ चैत

नेपाल चलचित्र प्राविधिक संघले आर्थिक रुपमा विपन्न प्राविधिकलाई आज आईतबारबाट राहत वितरण सुरु गर्ने भएको छ । सुरुको चरणमा राहतको लागि सम्पर्कमा आएका ३०० जना विपन्न प्राविधिकहरुलाई आईतबार र सोमबारमा राहत वितरण गरिसक्ने नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराएका छन् ।

बिगत एक महिना भन्दा लामो समयदेखि चलचित्र तथा म्युजिक भिडियोको छायाँकन नहुँदा दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरुको आर्थिक अबस्था दयनीय छ । यसबारेमा समाचार आएपछि चलचित्रकर्मीहरुले प्राविधिकलाई राहत प्रदान गर्न आर्थिक सहयोग सुरु गरेका छन् ।

यसै क्रममा नेपालबाट हालसम्म विभिन्न प्राविधिकहरुका लागि अभिनेता पल शाहले ५ लाख रुपैयाँको घोषणा गरेको, लाईन प्रोड्युसर तथा छायाँकार गौतम धिमालले २ लाख २५ हजार रुपैयाँको राहत सामग्री उपलब्ध गराएको, अभिनेत्री पुजा शर्माले दुई लाख प्रदान गर्ने घोषणा गरेको पनि अध्यक्ष लामाले बताएका छन् । यस्तै निर्माता तथा हास्य अभिनेता दीपकराज गिरी र उनको समुहले १ लाख २० हजार रुपैयाँ प्रदानको घोषणा गरेको, अभिनेत्री वर्षा राउतले ५१ हजार रुपैयाँ दिएको र अभिनेता कृष्ण मल्लले अभियानका तर्फबाट ३० हजार रुपैयाँ, वितरक गोपाल कायस्थले १५ हजार रुपैयाँ प्रदान गरेको पनि अध्यक्ष लामाले बताए ।

प्राप्त रकमबाट आर्थिक सहयोग गर्ने व्यक्तिकै मातहतमा खाद्यान्न सामग्री किनेको, खरिद गरिएको बिल सम्बन्धि व्यक्तिलाई नै दिने गरेको पनि अध्यक्ष लामाले बताए । अहिलेसम्म उठेको रकमले शनिबार खाद्यान्न सामग्री किनेर प्याकिङ सुरु गरेको र त्यसलाई आईतारबाट घर घर पुर्याउने अभियान थालिएको पनि अध्यक्ष लामाले बताए । प्राति प्राविधिकलाई ३ हजार रुपैयाँको बराबरकोे राहत प्याकेज स्वरुप एक वोरा चामल, दाल, खाने तेल, नुन जस्ता अत्याबस्यक खाद्यन्न सामग्री प्रदान गरिने पनि लामाले बताए ।

राहत सामग्री प्राविधिकको घरमा पुर्याउने जिम्मा लिएका गौतम धिमालले भने सिडियो कार्यालयबाट पास लिएर एउटा गाडीमा भरी सामान हाली आईतबार बिहानबाटै वितरण कार्य सुरु गरेको बताए ।

अध्यक्ष लामाका अनुसार चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र छायाँकन क्षेत्रमा दैनिक ज्यालादारीमा कार्यरत प्राविधिक मध्य १३ सय जना यो संघका सदस्य छन् । जस मध्य ३०० जनालाई अहिले राहत प्रदान गरिँदैछ भने शनिबारबाट सम्पर्कमा आएका अरु विपन्न प्राविधिकका लागि प्राप्त सहियोग मँगलबारबाट बितरण सुरु गरिने पनि उनले बताए ।