प्राविधिकलाई दीपकराजको १ लाख १० हजार सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ चैत

नेपाली चलचित्रमा दैनिक ज्यालादारीमा कार्यरत विपन्न मजदुर प्राविधिकहरु यतीबेला लक डाउनको मारमा छन् । उनीहरुले चुलो बल्न छाड्यो भन्दै प्राविधिक संघमा सहयोग मागेको पाँच दिन बितिसकेको छ । चलचित्रकर्मीबाट सहयोग नपाएपछि यस्ता केही प्राविधिकहरुले बिहिबार आफ्नो नाम टिपाई काठमाडौं महानगरपालिकाको केही वडा कार्यालयबाट पाँच किलो चामल, दाल, तेल र नुन सहयोग लिए । तर केहीले भने अझै सहयोग पाएका छैनन् ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार यस्ता विपन्न प्राविधिक डेढसय भन्दा बढी सम्पर्कमा आएका छन् । आफुले जिल्ला प्रशासन कार्यालयबाट यातायातको पास नपाएका कारण घर घरमा उनीहरुलाई राहत पुर्याउन नसकेको लामाले बताएका छन् ।

यसै बीच चलचित्र अभिनेता एवम् निर्माता दीपकराज गिरीले यस्ता प्राविधिकहरुलाई खाद्यान्न किनेर सहयोग गर्न एक लाख १० हजार रुपैयाँ आफ्नो तर्फबाट प्रदान गरेको घोषणा गरेका छन् । उनले फेसबुकमा यस्तो लेख्दै यो घोषणा गरेका हुन्,‘हामीलाइ सुटिङको समयमा भोक लाग्दा खाना खुवाउने, हामीलाइ गर्मीहुँदा छाता ओडाउने, हामीलाइ राम्रो देखाउन गह्रौ लाइट उचाल्ने प्राबिधिकहरूको लागि यो कठिन समय हो । अत सबै मिलेर केही सहयोग गरौं । हाम्रो तर्फबाट रू १ लाख १० हजार दिदैछौ ! चलचित्र क्षेत्रका इच्छुक साथीहरूले पनि इनबक्स गर्न सक्नु हुनेछ । आउनुस, एकमुष्ट सहयोग गरौं !‘

उनको यो सहयोग घोषणाको अहिले प्रसँसा गरिएको छ । यता नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष लामाले दाताबाट प्राप्त रकमले आबस्यक खाद्य सामग्री किनेर विपन्न प्राविधिकहरुको घरमा पुर्याउने ब्युटी न्युज नेपाललाई बताएका छन् ।