अभिनेत्री आँचलको उद्दिपसँग टिकाटालो, विवाह २९ फागुनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ फागुन

अर्की अभिनेत्री आँचल शर्मा पनि दाम्पत्य जीवनमा बाँधिने भएकी छिन् । १५ फागुनमा प्रियँका कार्कीले विवाह गर्न लाग्दैगर्दा आँचलले विवाह मिति २९ फागुन तय गरेकी हुन् । आँचल र प्रियँका दुबैले विवाह गर्ने होटल पनि एउटै अर्थात बुढानिलकण्ठको पार्क भिलेज नै रोजेका छन् । प्रियँकाको रिसेप्सन पार्टी पार्क भिलेजमै हुँदैछ । आँचलले होटल हायातमा रिसेप्सन पार्टी दिने बताईएको छ ।

विवाहको साईत जुराएसँगै अभिनेत्री आँचल शर्माले आफ्नो चिकित्सक प्रेमी उद्दिप श्रेष्ठसँग सोमबार इँगेजमेन्ट (टिकाटालो) गरेकी छिन् । काठमाडौंको चुच्चेपार्टीको इम्पेरियल बैंक्वेटमा दुबै पक्षको परिवारको उपस्थितिमा उद्दिप र आँचलले टिकाटालो गरेका हुन् ।

करिब ढेड वर्ष अघि फेसबुकबाट आँचल र उद्दिप नजिकिएका हुन् । फेसबुकमै कुरा गर्दा गर्दै नजिक भएका यी दुईले आफ्नो प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा जोडेर सार्थक तुल्याउँदै छन् । यी दुईले उज्ज्वल अभिष्यको कामना सहित महाराजगञ्जमा ६ महिना अघिबाटै आफ्नो व्यबसाय पनि सुरु गरेका छन् ।

ब्युटी पेजेन्टबाट ६ वर्ष अघि ग्लामर यात्रा सुरु गरेकी आँचलले अभिनेत्रीको रुपमा पहिलो चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट डेब्यु गरेकी थिईन् । त्यसपछि उनले आधा दर्जन सिनेमामा काम गरिन् । जसमध्य उनको सफल फिल्म शत्रुगते मात्र बन्यो ।

पहिलो चलचित्रबाटै अभिनेता पल शाहसँग जोडी बनेकी आँचल र पलको विवाह भएको दर्शक हेर्न चाहन्थे । यी दुईलाई आँप जोडी भनेर दर्शकले विवाहको सपना पनि देखे । तर त्यो सपना पर्दामा मात्र सिमित भयो । रिलबाट आँचल रियललाईफमा उद्दिपको जोडी बन्दैछिन् ।

यी अभिनेत्री आँचलले विवाह पछि पनि निरन्तर फिल्म खेल्ने बताएकी छिन् । उनको नयाँ चलचित्र झिँगेदाउ आगामी भदौमा रिलिज हुनेछ । उनले नयाँ चलचित्र ‘डामाडोल’मा पनि अभिनय गर्ने बताईएको छ । नयाँ दम्पत्य जीवनका लागि आँचललाई अग्रिम शुभकामना ।