मुक्तक मेलामा १३ नारीस्रष्टाले सुनाए मुक्तक


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ

नेपाल मुक्तक प्रतिष्ठानका श्रष्टाहरुले शनिबार मुक्तक बाचन र श्रबण गर्दै मुक्तक दिवस मनाएका छन् । काठमाडौंको जमल स्थित नाचघरमा मुक्तक दिवसका अवसरमा आयोजित मुक्तक मेलामा १३ जना नारीस्रष्टाले मुक्तक सुनाए ।

प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रश्मी रोदन, दुर्गा तिवारी, शान्ति शर्मा, लुमन्ती चित्रकार, विमला देवकोटा, तारा केसी, प्रतीक्षा पोख्रेल, कोपिला घिमिरे, भगवती रोका ‘भूमिका’, सुमन स्मारिका, पूजा आराधना, सुशिला ढकाल अधिकारी, निशा केसीले चार÷चारवटा मुक्तक वाचन गरे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कोनेले सहभागी महिला स्रष्टाको सम्मानमा दुईवटा मुक्तक सुनाएका थिए । अध्यक्ष कोनेले सामाजिक सञ्जालको साथ पाएर अहिले मुक्तक फैलिँदो रहेको बताउँदै अग्रजदेखि अनुज पुस्ता यो विधामा क्रियाशील भएको जिकिर गरे । उनका अनुसार वि.सं. २०७० साल माघ १६–१८ गते पोखरामा सम्पन्न सम्मेलनले नेपाल मुक्तक प्रतिष्ठानको स्थापना गरेको थियो । यहि दिनको अवसर पारेर प्रतिष्ठानले माघ १८ गतेलाई मुक्तक दिवसको रुपमा मनाउन थालेको छ । प्रतिष्ठानको यो १९ औं श्रृङ्खला हो ।

कार्यक्रमका प्रमुख अतिथि चलचित्रकर्मी यादव खरेलले मुक्तकका महत्वबारे कार्यक्रममा प्रकाश पारे । उनले यस्ता कार्यक्रममा काठमाडौँका मात्रै स्रष्टाहरु भेला हुने गरेकोमा यो कार्यक्रममा भने बाहिरका स्रष्टाको पनि सहभागिताले खुसी लागेको बताए । वि.सं. २०१८÷१९ साल तिर भीमदर्शन रोकाले पहिलो पटक मुक्तक सुनाएको दृष्टान्त उल्लेख गर्दै खरेलले त्यसपछि मुक्तकको विकास भएको बताए । मुक्तक रचनामा महिला सहभागिता पनि बढ्दै गएको उल्लेख गर्दै यो सम्मान योग्य भएको भन्दै उनले प्रसंशा गरे ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले प्रतिष्ठानसँग आउँदा दिनमा पनि संस्थानले सहकार्य गर्ने बताए । प्रतिष्ठानका महासचिव रमेश पौडेलले अतिथिहरुलाई स्वागत गर्दै मुक्तक दिवसको बारे प्रकाश पारेका थिए ।