नेपाल चलचित्र संघको सम्पूर्ण पदाधिकारी चयन


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ

नेपाल चलचित्र संघको अध्यक्ष पछि विभिन्न पदाधिकारीको चयन भएको छ । मँगलबार बसेको संघको कार्यसमितिको बैठकले पदाधिकारी बाँटफाँट गरेको हो ।

चलचित्र संघको प्रथम उपाध्यक्षमा अर्जुन श्रेष्ठ, द्धितीय उपाध्यक्षमा कुवेर शर्मा, तृतीय उपाध्यक्षमा त्रिरत्न मानन्धर चयन भएका छन् ।

यस्तै नेपाल चलचित्र संघको महासचिबमा अशोक शर्मा चयन भएका छन् । चलचित्र निर्माता र निर्देशक समेत रहेका अशोक शर्मा यस अघि नेपाल चलचित्र निर्माता संघको अध्यक्ष समेत भईसकेका थिए । संघको उपमहासचिबमा गोपालकाजी कायस्थ र कोषाध्यक्षमा देवेन्द्र खड्गी चयन भएका छन् ।

बाँकी केन्द्रिय सदस्यहरुमा भाष्कर ढुंगाना, गोविन्दबहादुर शाही, कपिलप्रसाद दुवा, कैलाश ढकाल, निरज कार्की, निरज गुप्ता, बिक्रम पराजुली रहेका छन् । यस्तै संघको यस्तै पूर्वाञ्चलको सभापतिमा चैतन्य बराल, उपसभापतिमा परशुराम चौधरी, पश्चिमाञ्चलको सभापतिमा ओम जैसी, मध्यपश्चिमको सभापतिमा डाक्टर सिंह गुरुङ र उपत्यका सभापतिमा मदनमान बज्राचार्य यस अघि नै निर्विरोध चयन भईसकेका छन् ।

चलचित्र वितरक तथा चलचित्र हलमालिकहरुको यो संस्था ४७ वर्ष अघि स्थापना भएको हो । यो नेपालको चलचित्र सम्बन्धि सबैभन्दा जेठो संस्था हो ।

गत साता संघको अध्यक्षमा मधुसूदन प्रधान निर्विरोध चयन भएका थिए । संघका बाँकी पदाधिकारीको चयन बाँकी थियो । गत २५पुषमा सम्पन्न संघको ४७ औं वार्षिक साधारण सभाबाट १३ जना केन्द्रिय सदस्य चयन भएका थिए । तिनै १३ जनाबाट मँगलबार विभिन्न पदाधिकारीहरु चयन गरिएको चलचित्र संघका अध्यक्ष प्रधानले जानकारी गराएका छन् ।