दीपेन्द्रको २ नम्बरीमा दयाहाङ वर्षाको जोडी


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ माघ

काठमाडौंमा एक समारोहबीच नयाँ चलचित्र ‘२ नम्बरी’ निर्माणको घोषणा गरिएको छ । यो चलचित्र दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार हुन लागेको हो । उनले यसअघि घामपानी, गोपि र ६ मायाँ छपक्कैको निर्देशन गरिसकेका छन् ।

चलचित्रमा दयाहाङ राई, वर्षा राउत, पल शाह, वुद्दि तामाङ लगायतका कलाकार चयन भएका छन् । चलचित्र ‘२ नम्बरी’को बिषयमा निर्देशक लामाले भने–‘एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्नेछ । साथमा, चलचित्रले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ ।’

पत्रकार भेटघाटका क्रममा चलचित्रका अभिनेता दयाहाङ राइले चलचित्रको कथा मन परेपछि आफू काम गर्न तयार भएको बताए । अभिनेत्री वर्षा राउतले चलचित्र हेर्दा दर्शक आफ्नो भूमिकालाई लिएर सन्तुष्ट हुने सुनाइन् ।

किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् ।

यो चलचित्रको छायांकन माघको २५ गतेबाट सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । निर्माता किरण नेपालीले यो चलचित्रलाई आउँदो जनैपूर्णिमामा रिलिज गर्ने जानकारी दिए ।