सञ्जीव र टीकाले जिते पोखरेलीको मन


ब्युटी न्युज नेपाल
पोखरा, ५ माघ

पोखरामा गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईँले आफ्ना युगल गीतबाट दर्शकको मन जितेका छन् । यी दुईले युगलसाँझमा आफ्ना प्रस्तुतिमार्फत दर्शकको मन जितेका हुन् ।

अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले उनीहरुलाई पोखरामा मञ्च प्रदान गरेका हुन् । ‘रातो र चन्द्रसूर्य’बोलको गीतबाट गायन यात्रा शुरु गरेका सन्जीव र टीकाले आफ चर्चित गीतहरू ‘नाई मलाई थाहा छैन’, ‘माया लुकी लुकी’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’लगायत दर्जन गीत गाएर पोखरेलीलाई मनोरञ्जन दिलाए ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले नेपाली कला, साहित्य र संगीतका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिँदै उनले युवा पुस्ताका सचेत गायक र गायिकाका रुपमा आफूले सञ्जीव र टीकालाई चिनेको बताए ।

कार्यक्रममा राजेन्द्रकुमार शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रममै ‘किन कर्के नजर’बोलको गीतको कभर डान्स प्रतियोगितामा उत्कृष्ट नागी डान्स सेन्टर, इटहरीका कलाकारहरुलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपमले एकल रुपमा र विभिन्न संस्थासँग मिलेर सांगीतिक कार्यक्रमहरु गर्दै आएको बताए । उनले आगामी जेठमा हुने सातौं अनुपम सांगीतिक साँझ नयाँ ढंगबाट अघि बढाउने जानकारी दिए । कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देलले आफ्नो कार्यकालमा क्लबले समाजसेवाका अलावा संगीतका माध्यमबाट सामाजिक कार्य गर्ने बताए ।

विराटनगर स्थायी घर भई हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका सञ्जीव र झापा स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी टीका नेपाली संगीत क्षेत्रमा सांगीतिक जोडीका रुपमा परिचित छन् । यो जोडीले युगल साँझमै ‘सँग सँगै’ को भाग १ र २ एल्बम पनि सार्वजनिक गरे । सञ्जीवका यसअघि ‘त्यो सपना’ र ‘सुनय’ गरी ४ र टीकाका ‘मेलोडी’सँगै ३ एल्बम बजारमा आइसकेका छन् ।

उनीहरुले संयुक्त रुपमै कान्तिपुर म्युजिक अवार्ड, हिट्स एफ. एम. म्युजिक अवार्ड, कालिका म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, सूर्य इन्टरनेशनल म्युजिक अवार्ड गरी पाँच अवार्ड पाइसकेका छन् । गायिका टीकाले ‘नातिकाजी युवा संगीत सम्मान’ र ‘इमेज अवार्ड’ पनि पाएकी छिन् भने सञ्जीव पनि ‘अनुपम संगीत सम्मान’लगायतका सम्मानबाट सम्मानित भइसकेका छन् । सन्जीव र टीकालाई पोखरामा उभ्याउने चाँजोपाँजो गीतकार होमनाथ न्यौपानेले मिलाएका थिए ।