हास्यब्यँग्य कलाकारहरुको शैक्षिक योग्यता


शनिबार रिपोर्टिङ

ब्युटी न्युज नेपाल/ सरिता भारती,
काठमाडौ, ५ पुष

नेपाली चलचित्र क्षेत्रमा अहिले निकै व्यस्त र सफल रहेका चर्चित हास्यब्यँग्य कलाकारहरुको शैक्षिक अबस्था र योग्यता बारेमा आज हामी यहाँ चर्चा गर्दैछौं । नेपालका केही चर्चित हास्यब्यँग्य कलाकारहरु एसएलसीमा चार पटकसम्म फेल भए भन्दा यहाँहरुलाई विश्वास नलाग्न सक्छ । यसरी एसएलसीमा चार पटकसम्म फेल भएर पनि पुन एसएलसी पास गरेर क्याम्पस पढेर उनीहरुले कलाकारितामा ठुलो प्रगति गरेका छन् । उनीहरुको त्यो सफलता धेरैलाई लागि प्रेरणाको श्रोत हुन सक्छ । यसै क्रममा नेपाली हास्यब्यँग्य कलाकारहरुको शैक्षिक योग्यताको बारेमा यहाँ एउटा रिपोर्ट प्रस्तुत गरिएको छ ।

दीपकराज गिरी : हातमा ब्याचर डिग्री


हास्यब्यँग्य अभिनेता एवम् निर्माता दीपकराज गिरी अहिलेका सफल निर्माता कलाकार हुन् । उनले मानविकीमा स्नातक गरेका छन् । रमाईलो प्रसँग के भने काठमाडौं दहचोक निवासी दीपकराज गिरीले २०४१ देखि २०४३ सालसम्म लगातार तीन पटक एसएलसी परीक्षा दिँदा पनि उतिर्ण भएनन् । उनी चौथो पटक २०४४ सालमा एसएलसी पास भएका हुन् । अँग्रेजी, गणित लगायतका विषयमा आफु कमजोर भएका कारण पटक पटक ब्याक लागेको स्मरण यी अभिनेताले गरेका छन् । एसएलसी पास गरेपछि आर आर क्याम्पस भर्ना भएका दिपकले ६ वर्ष लगाएर बिएसम्मको अध्ययन पुरा गरे । उनले नेपाली र राजनीति शास्त्रमा स्थानक हुन् । उनी एमएसम्मको पढाई पुरा गर्न चाहन्थे । २०५० सालदेखि हास्य टेली चलचित्र हिजो आजका कुरामा ब्यस्त भएपछि उनले एमएको पढाई पुरा गर्न सकेनन् ।

किरण केसी : चौथा पटकमै एसएलसी पास


अर्का बरिष्ट हास्यब्यँग्य अभिनेता एवम् चलचित्र निर्माता किरण केसी पनि चार पटक एसएलसीमा फेल भएका थिए । ललितपुर इमाडोलका किरण केसी पढाई भन्दा घुमघाम र अभिनयमा रुची राख्थे । उनलाई पढ्न पटक्कै मन लाग्दैन थियो । बुबाको करले एसएलसी दिएर तीन पटक फेल भए पनि चौथो पटकमा एसएलसी पास गरेको उनले बताएका छन् । त्यसपछि बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यको सँगतले नाटक र टेली चलचित्रतर्फ लागेका करिणले एसएलसीपछि आफ्नो पढाईलाई अघि बढाएनन् । आफुले धेरै पढ्न नसकेको महसुस बेला बेलामा हुने गरेको किरण बताउँछन् ।

मदनकृष्ण श्रेष्ठ : प्राइभेटबाटै बिएपास


काठमाडौंको जीतपुर फेदीमा जन्मिएका बरिष्ट हास्यब्यँग्य कलाकार मदनकृष्ण श्रेष्ठले शान्ति निकुञ्ज स्कुलबाट एसएलसी पास गरेपछि महेन्द्र रत्न क्याम्पस पढे । सोही क्याम्पसबाट म्यानेजमेन्टमा आईकम पास भएका मदनकृष्ण सोही क्रममा कर्मचारी सँचय कोषका जागिरे भए । कलेज जान नभ्याएपछि प्राईभेट परिक्षा दिएर उनले बिए उतिर्ण गरेको हुन् ।

हरिबँश आचार्य : अभिनयले बनायो ब्याचारमै व्यस्त


बरिष्ट हास्यव्यँग्य अभिनेता हरिबँश आचार्यले भने बिएसम्मको अध्ययन गरे । काठमाडौंको सरकारी स्कुलबाट एसएलसी पास गरेका हरिबँशले आईएपछि बिए पनि पढे । तर बिएको अन्तिम वर्षमा लागेको बिषय उनले उतिर्ण गर्न सकेनन् । त्यसपछि कला क्षेत्रले उनलाई यतीधेरै व्यस्त बनायो की मानविकीमा स्नातक गर्ने योजना सफल भएन् । यद्यपि आज नेपाली कला क्षेत्रमा बरिष्ट हास्यब्यँग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्य अर्थात मह जोडीको आफ्नै बिशिष्ट परिचय र सम्मान छ ।

शिबहरि पौडेल : जागिर खाएरै बिए पास


बरु बरिष्ट हास्यब्यँग्य कलाकार शिबहरी पौडेलले बिएसम्मको अध्ययन पुरा गरेका छन् । २०३९ सालमा हेटौंडाबाट सेकेन्ड डिभिजनमा एसएलसी उतिर्ण गरेका शिबहरिले २०४२ मा पाटनसँयुक्त क्याम्पसबाट सेकेन्ड डिभिजनमै आईए पास गरे । त्यसपछि उनले सोही क्याम्पसबाट बिएसम्म पढाई पुरा गरे । शिबहरि पनि बिए पास हुँदासम्म जागिर र कलाकारितामा व्यस्त भईसकेका थिए । उनी राष्ट्रिय बाणिज्य बैंकमा जागिरे भईसकेका थिए भने अभिनय यात्रालाई अघि बढाउन व्यस्त थिए । सोही कारण एमए पास गर्ने आफ्नो धोको पुरा नभएको शिबहरिले बताएका छन् । उनले लामो समय राष्टिय बाणिज्य बैंकमा सेवा गरेर अहिले सेवा निबृत्त भएका छन् । हाल उनी आफ्नो निर्देशनमा नयाँ फिल्म लक्का जवानको निर्माणमा व्यस्त छन् । यो फिल्म २०७६ चैतमा रिलिज हुँदैछ ।

दीपाश्री निरौला : आईए सकेपछि अभियन यात्रा


चर्चित महिला निर्देशक तथा हास्यब्यँग्य कलाकार दीपाश्री निरौलाको पनि शैक्षिक योग्यता आईए पास हो । दीपाश्रीले आफ्नो हास्यव्यँग्य अभिनय करिअर हास्यब्यँग्य सृँखला तितोसत्यबाट २०५० सालमा अघि बढाएकी हुन । त्यसअघि उनी नाटक तथा टेली सिरियलमा प्रस्तुत भएर पनि चर्चामा थिईनन् । आफ्नो गृहनगर बिराटनगरबाटै फस्ट भिडिजनमा एसएसली पास गरेकी दीपाश्रीले त्यसपछि महेन्द्र मोरङ क्याम्पस बिराटनगरबाट आर्ईएसम्मको अध्ययन पुरा गरिन् । उच्च शिक्षा हाँसिल गर्न त्यसपछि काठमाडौं आएकी दीपाश्रीले पढाई भन्दा नाटक हुँदै अभिनय करिअर अघि बढाउने क्रममा बिए पास गर्ने उनको धोको अधुरै रह्यो ।

जितु नेपाल : आर्थिक अभावले रोकियो व्याचलर


आर्थिक समस्या र कलाकारिताका कारण आईए भन्दा माथिको अध्ययन गर्न नसकेका अर्का हास्यब्यँग्य कलाकार जितु नेपाल हुन् । सिन्धुपालचोकको जाल्पा माविबाट सेकेन्ड भिडिजनमा एसएलसी पास गरेका जितुका अनुसार उनी आईए अध्ययन गर्दा गर्दै २०५० मा हास्यसँृखला हिजो आजका कुरामा हास्य कलाकारका रुपमा व्यस्त भए । त्यसपछि एकपछि अर्को गर्दै उनले लगातार चलचित्र र टेलीचलचित्र पाए । जेनतेन आईएपुरा गरे पनि बिए अध्ययन गर्न नभ्याएको जितुले बताएका छन् । यतीबेला मुन्द्रेको कमेडी क्लबबाट लोकप्रियता हाँसिल गरिरहेका जितु आफुले जति पढ्न सकें, त्यतिमै सन्तुष्ट छु भन्छन् ।

सिताराम कट्टेल : अभियनले बनायो अपुरा ब्याचलर


बिएसम्म पढेर पनि कलाकारिताकै व्यस्ताका कारण ब्याचरलको अन्तिम वर्ष पुरा गर्न नसकेका कलाकारमा हास्यब्यँग्य अभिनेता सिताराम कट्टेल अर्थात धुमुर्स र कुञ्जना घिमिरे अर्थात सुन्तली दम्पति पर्छन । अहिले सामाजिक अभियान्तका रुपमा देश बिदेशमा परिचित हास्यब्यँग्य अभिनेता सिताराम कट्टेलले झापाको गौरादहबाट फस्ट डिभिजनमा एसएलसी उतिर्ण गरेका थिए । त्यसपछि काठमाडौंको आरआर क्याम्पस पढेका सितारामले पत्रकारिता र राजनीति शास्त्र लिएर आईए पास गरे । बिएमा पनि उनले पत्रकारिता र राजनीतिशास्त्र नै पढे । तर सितारामले बिए पास भने गरेनन् । उनी टेली चलचित्रमा यती धेरै व्यस्त भएकी बिएको तेश्रो वर्षमा लागेको व्याक पेपर उनले दिन भ्याएनन र बिए पास गर्ने चाहना अधुरै रह्यो ।

कुञ्जा घिमिरे : अभिनयले पुरा हुन दिए ब्याचलर


सितारामसँगै हास्यँटेली चलचित्रतिर व्यस्त भएकी कुञ्जनाको पनि बिएमा उस्तै हालत भयो । ललितपुरबाट फस्ट डिभिजनमा एसएलसी पास गरेकी कुञ्जनाले पद्म कन्या क्याम्पस काठमाडौंबाट अँग्रेजी र सोसिओलोजी तेश्रो बर्षको पढाई पुरा गर्न सकिनन् । त्यतिबेला उनी सिताराम कट्टेलसँगै टेलि फिल्ममा व्यस्त भईन् । पढ्ने समय निकाल्न नसकेपछि यी दम्पत्तिले नै बिए तेश्रो वर्षको व्याकपेपर दिन भ्याएनन् । जसका कारण उनीहरुको बिए पास गर्ने योजना पुरा भएन । पिके क्याम्पसबाट डान्स, मेजर इङलिस र सोसिओलोजीमा आईए पास गरेकी कुञ्जना आज आफ्नो अभिनय र समाजसेवाका कारण दर्शकमा लोकप्रिय छिन् ।

केदार घिमिरे : आईएल नसक्दै कलामा व्यस्त


आईएसम्म अध्ययन गरेका अर्का हास्यब्यँग्य कलाकार केदार घिमिरे अर्थात माग्ने बुढा पनि हुन् । हेटौंडाबाटै एसएलसी पास गरेपछि उनी उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आएका थिए । त्यसपछि उन वकिल बन्ने योजना सहित नेपाल ल क्याम्पसमा आईएलमा भर्ना भए । लगातार दुई वर्ष ल क्याम्पस पढेर पनि आर्थिक समस्या र अन्य कारणले उनले आईएल पुरा गर्न सकेनन् । जसका कारण उनको वकिल बन्ने सपना पुरा भएन । तर आज केदार घिमिरेलाई वकिल बन्न नसकेकोमा कुनै पछुतो छैन । उनी नेपालका महँगा र चर्चित हास्यव्यँग्य कलाकार बनेकोमा त्यसैमा खुसी छन् ।

राजा राजेन्द्र पोखरेल : अँग्रेजीमा मास्टर डिग्री


अहिलेका हास्यब्याँग्य कलाकारहरुमा एमए (मास्टर डिग्री) पास गर्ने कलाकारमा राजा राजेन्द्र पोखरेल पर्छन । उनले त्रिबिबीबाट मास्टर डिग्री गरेका छन् । झापाबाट फस्ट डिभिजनमा एसएलसी पास गरेपछि काठमाडौं आएर आरआर क्याम्पसमा भर्ना भएका राजेन्द्रले राजनीति शास्त्र, पत्रकारिता, अँग्रेजीमा आई ए सेकेन्ड डिभिजनमा पास गरे । त्यसपछि उनले पत्रकारिता र अँग्रेजीमा सेकेन्ड डिभिजनमै बिए पास गरे भने उनले अँग्रेजी बिषयमा एम ए पास गरेका छन् ।

संदीप क्षत्री : म्यानेजमेन्टमा मास्टर डिग्री


आफ्नो स्कुल तहको पढाई बीरगञ्जबाट पुरा गरेका अर्का हास्य अभिनेता संदीप क्षत्रीले म्यानेजमेन्टमा प्लस टु, ब्याचर हुँदै एमबिएस गरेका छन् । म्यानेजमेन्टमा मास्टर डिग्री गरेका संदीप अहिले स्टेजदेखि सानो पर्दा, ठुलो पर्दा सबैतिर लोकप्रिय छन् । उनी कलाकारितासँगै प्रध्यापन पनि गर्छन ।