हिमालय रोडिज–३ को अडिसन सुरु हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौ, ७ भदौ

हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन अब सुरु हुने भएको छ । ‘हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो ।

यसपटक चारजना सेलिब्रेटी जजहरुले चारवटा ग्याङको नेतृत्व गर्नेछन् । दिया मास्के, आशिष राना ‘लाहुरे’, हिमालय रोडिज पहिलो सिजनका बिजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाहीले ग्याङ(समूह) लिड गर्नेछन् । अघिल्ला सिजनहरुमा जज रहेका रेमनदास श्रेष्ठले कार्यक्रम होस्ट गर्नेछन् ।

सिजन ३ नयाँ चुनौती, नयाँ फम्र्याट, नयाँ अनुहार एवं नयाँ शैली र आश्चर्यसहित आएको कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारी बताउँछन् । यो सिजन प्रतिस्पर्धी, निर्माण युनिट र जजका लागिसमेत निकै चुनौतीपूर्ण हुने उनी बताउँछन् । ‘सेलिब्रेटी ग्याङ लिडरको नयाँ ढाँचामा तेस्रो सिजन निर्माण गर्दैछौं’ अधिकारीले भने– ‘प्रतिस्पर्धीमात्र हैन, यसपटक सेलिब्रेटी ग्याङ लिडरहरुनै चुनौतीपूर्ण खेलमा सहभागी हुनेछन् ।’

यो बर्ष पनि नेपालका पाँच मुख्य शहरहरु– धरान, चितवन, नेपालगञ्ज, पोखरा र काठमाण्डौमा अडिसन हुने छ । नेपालगञ्जमा पहिलोपटक अडिसन हुन लागेको हो । हरेक शहरबाट १०–१५ जना प्रतिस्पर्धीहरुलाई छनौट गरी चारवटा ग्याङ(समूह)मा बिभाजन गरिने छ ।

जर्नी राउण्ड सुरु भएपछि छानिएका प्रतिस्पर्धीहरुले बिभिन्न टास्कहरुमा सहभागी भई आफ्नो शाहसिक कौशल प्रर्दशन गर्नेछन् । यो बर्ष अघिल्ला बर्षजस्तो केवल प्रतिस्पर्धीहरुमात्र टास्कमा सहभागी नभई सेलिब्रेटी ग्याङ लिडर पनि आफ्नो टीमका सदस्यलाई अघि बढाउन योजना बनाउन, खेल्न र टीमलाई जिताउन संर्घष गर्नेछन् ।

‘एचडी प्रविधिमा अपग्रेडसहित हिमालय टेलिभिजनको रिब्राण्डिङ भए पश्चात हामीले पहिलोटक नयाँ ढाँचाको रोडिज नेपाली दर्शकलाई दिन खोजिरहेका छौं’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने–‘उच्चस्तरीय प्रविधि, नयाँ ढाँचा र नयाँ गन्तब्यहरुसहित आउन लागेको सिजन–३ दर्शकका लागि साँच्चिकै सरप्राइज हुने छ ।’ सिजन ३ का बिजेताले नगद पुरस्कार र बाइक जित्नेछन् ।

भायाकम–१८ को लाइसेन्स अन्तर्गत रहेर हिमालय टेलिभिजन एचडीले यो कार्यक्रमको अन्तर्राष्ट्रिय प्रशारण अधिकार (इन्टरनेशनल फ्रेन्चाइज) लिई नेपाली दर्शकसमक्ष प्रसारण गर्दै आएको छ ।