अलबिदा किशोर राना


ब्युटि न्युज नेपाल
काठमाडौं ४ भदौ,

वरिष्ठ चलचित्र निर्देशक किशोर राना मगरको बुधबार दिउँसो ३ः३० बजे उपचारको क्रममा ६४ वर्षको उमेरमा ललितपुरको पुल्चोकस्थित निदान हस्पिटलमा निधन भएको छ ।
उनी मृगौला समस्यासँगै पछिल्लो समय निमोनियाबाट समेत ग्रस्त थिए । निमोनियाको उपचारको क्रममा रानाको निधन भएको अस्पतालले जनाएको छ ।

विगत ६ वर्ष देखि उनी मिर्गाैलाको समस्याले पीडित थिए । १४ महिना अघि उनको एउटा मृगौला प्रत्यारोपण गरिएको थियो । आफ्नै भाइ तथा चलचित्र निर्देशक रञ्जित रानाले उनलाई एउटा मिर्गौला दान गरेका थिए । फेरेको मृगौलामा पनि पछि समस्या देखिएको थियो ।

उनी एक दशक भन्दा लामो समयदेखि मधुमेहबाट पीडित थिए । सोही कारण उनको मिर्गौलामा समस्या आएर दुबै मृगौलाले काम गरेको थिएन ।

निर्देशक रानाको परिवारमा श्रीमती र एक छोरा छन् । छोरा भारतको बेंगलोरमा अध्ययनरत रहेका कारण बिहीबार बेलुका छोरा आएपछि रानाको शुक्रबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

उनले नेपालको पहिलो सिनेमा स्कोप चलचित्र ‘राँको’को निर्देशन गरेका थिए । राँकोको सफलता र चर्चासँगै उनले कर्जा, सीमारेखा, करोडपति, एक नम्बरको पाखेजस्ता सफल फिल्म नेपालीच चलचित्र उद्योगलाई दिए । निर्देशक किशोर रानाले सन्तानको माया, मिस्टर मंगले, चक्र, प्रतिबिम्बसहित थुप्रै चलचित्रको निर्देशन गरेका थिए ।

उनले दर्जनभन्दा बढी भोजपुरी फिल्मको निर्देशनसमेत गरेका थिए । जसमध्ये सुपरहिट भोजपुरी फिल्म कव होई मिलनबा हमारको निर्देशन पनि रानाले नै गरेका हुन् ।

निर्देशक किशोर रानाले आफ्नो फिल्मी करिअर बलिउडबाट सुरु गरेका थिए । उनले बलिउडमा प्राविधिक हुँदै विभिन्न निर्देशकको सहायक भएर काम गरे । उनले बलिउडका चर्चित निर्देशकसँग काम गरेर चर्चा कमाएका थिए । मुम्बईमा नेपाली मूलका अर्का निर्देशक बीएस थापासँग निकट भएपछि रानालाई चलचित्र कान्छीको निर्माणका क्रममा निर्देशक थापाले नेपालमा बोलाए । रानाले यसरी नेपाली फिल्ममा पहिलोपटक बीएस थापाको चलचित्र ‘कान्छी’मा सहायक निर्देशकका रूपमा काम गरेका थिए । यसपछि केही सिनेमामा सहायक भएर काम गरेका रानाले राँकोबाट निर्देशन सुरु गरेका हुन् । निर्देशक रानाकी श्रीमती संगीता राना प्रधान नेपाली संगीत क्षेत्रकी अग्रज गायिका हुन् ।